काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट बैशाख २० गते एपीएफ टोलीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक्स सामान र मोवाईल पोटर्स बरामद गरेको छ ।
भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ कालि मन्दिर ईलाकाबाट बैशाख १८ गते एपीएफ टोलीले नेपाल भारत सीमा ईलाकामा व्यक्ति ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मेचीनगर नगरपालिका १५ बस्ने २३ वर्षिय संदिप राजवंशी छन् । स ७ प ९३१७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ व्यक्ति लैजाँदै गरेको अवस्थामा निज राजवंशीलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश कालि मन्दिरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका निज राजवंशीलाई उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
उदयपुर, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित जलजलेबाट बैशाख १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको त्रियुगा नगरपालिका १२ बस्ने पप्पु डुम छन् ।
लाहानबाट गाईघाटतर्फ जाँदै गरेको को १ ज २६३० नम्बरको जिपमा सवार निज डुमलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन इन्जेक्सन ६० वटा, नुफिन ६० वटा, डाईजोलिफ ६० वटा र सिरिन्ज १ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज डुमलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय जलजलेमा बुझाईएको छ ।


