हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको एउटा भारतीय नम्बरप्लेटको सवारी साधनबाट दुई पटक गाँजा बरामद गरेको छ ।पहिलोपटक कात्तिक १० गते हेटौँडाको पीपलबोटमा गाँजासहित नियन्त्रणमा लिइएको सवारी साधनमा दक्ष मेकानिक्स लगाएर पुनः गाँजा खोज्दा पहिला बरामद भएको भन्दा बढी गाँजा भेटिएपछि प्रहरी अधिकारीहरु नै अचम्ममा परेका छन् ।
प्रहरीको नियन्त्रणमा रहेको गाडीमा दोस्रोपटक ४७ किलो भन्दा बढी गाँजा फेला परेको हो ।कात्तिक १० गते दिउँसो १ः३५ बजे हेटौँडा उपमहानगरपालिका–१, पीपलबोटस्थित पूर्वपश्चिम राजमार्गमा प्रहरी चौकी रातोमाटेबाट खटिएको ट्राफिकसहितको चेकिङ टोलीले चेकजाँच गगर्दा ४२ किलो ४ सय १० ग्राम गाँजा १९ वटा पोकामा फेला परेका थिए ।
सुमोमा थप लागुऔषध हुन सक्ने शंका लागेपछि दक्ष मेकानिक्स बोलाएर गाडीका विभिन्न पार्टपुर्जामा खानतलासी गर्दा अरु ९० केजी गाँजा बरामद भएको प्रहरी उपरीक्षक श्याम खत्रीले बताए ।गाडीको विभिन्न भागमा फल्स बटम बनाई लुकाइराखेको अवस्थामा ४७ किलो ६०० ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
कात्तिक १० गते बिआर १ एपी ६०७३ नम्बरको गाडीमा ४२ किलो भन्दा बढी गाँजा बरामद भएको हो । गाँजासहित चालक भारत, बैसाली महुवा टोलका २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय पक्राउ परेका थिए ।


