पत्रकार पक्राउ गर्ने शैली शाही निरङ्कुशताजस्तै : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारसँग माग गरेको छ ।


कांग्रेसले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारमाथि धरपकड गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गरेको छ।कांग्रेस सभापति गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने घटनाप्रति गम्भीर आपत्ति जनाएका हुन्।


‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाहीकालको निरङ्कुशताको झल्को दिएको छ,’ थापाले विज्ञप्तिमा भनेका छन्।विगतमा शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार क्षेत्रमाथि धावा बोलिएका घटना स्मरण गराउँदै उनले त्यस्ता निरङ्कुश प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि दुःखद र चिन्ताजनक भएको बताएका छन्।


कांग्रेसले स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको रक्षाका लागि सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै सभापति थापाले निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध सधैँ उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको अवस्थामा त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया रहेको स्पष्ट पारेको छ।ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मर्मविपरीत भएको कांग्रेसको ठहर छ।‘कानुनको शासन (रुल अफ ल) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (रुल बाइ ल) तर्फ उन्मुख हुनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ। नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भर्त्सना गर्दछ।’कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु : आईजीपी कार्की

सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्ने बताएका छन् । शनिबार..