काठमाडौँ । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड तथा न्यूजरुममा सरकार र प्रहरीको हस्तक्षेप बढेको भन्दै नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौँको माइतीघर मण्डलामा पत्रकारहरूले प्रदर्शन सुरु गरेका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी गतिविधि बढेको भन्दै महासंघले विरोध प्रदर्शन आयोजना गरेको हो। प्रदर्शनमा सहभागी पत्रकारहरूले वर्षा र झरीको समेत प्रवाह नगरी सरकारको कार्यशैलीविरुद्ध आवाज उठाएका छन्।
माइतीघरमा भेला भएका पत्रकारहरूले सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर, पत्रकारलाई पक्राउ गर्ने र त्रसित बनाउने कार्य रोक, प्रेस स्वतन्त्रताको सम्मान गरलगायतका नारा लगाउँदै विरोध जनाएका छन्।
प्रदर्शनमा पत्रकारहरूको सहभागिता बढ्दै गएको छ। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, सञ्चारकर्मी तथा पत्रकारितासँग सम्बन्धित व्यक्तिहरूले एकजुट भएर सरकारको रवैयाविरुद्ध आवाज उठाइरहेका छन्।
प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन्। उनीहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने धारणा राखेका छन्।
पत्रकार महासंघले पत्रकारिताको व्यावसायिक स्वतन्त्रता, नागरिकको सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि विरोध प्रदर्शन गरेको जनाएको छ। महासंघको आन्दोलनले प्रेस स्वतन्त्रतामाथि राज्यको व्यवहार र सरकारको जवाफदेहिताबारे गम्भीर प्रश्न उठाएको छ।


