काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजिपी ) दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाटलगायत आपराधिक गतिविधि रोक्न सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन् ।
उनले नागरिकका समस्या तत्काल सम्बोधन गर्न उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्रहरी कर्मचारीलाई थप सक्रिय हुन आग्रह गरे । आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा अवस्थाअनुसार आवश्यक योजना निर्माण गर्न, स्थानीय तह तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्न पनि उनले निर्देशन दिए ।
चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कार्कीले सामाजिक सद्भावमा खलल पुग्ने घटनाप्रति सचेत रहन पनि प्रहरीलाई निर्देशन दिए ।
सीमा नाकामा हुन सक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न उनले निर्देशन दिएका छन् । त्यसका लागि सूचना सङ्कलन तथा विश्लेषणलाई प्रभावकारी बनाउँदै आवश्यकताअनुसार प्रहरी परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पूर्ण रूपमा पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा संवेदनशील हुन पनि आग्रह गरे । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको उद्देश्य र लक्ष्य प्राप्तिमा प्रतिबद्ध हुनुपर्ने बताउँदै उनले गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिए ।
प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई अनुगमन, सुपरिवेक्षण र निरीक्षणमार्फत कमजोरी तथा त्रुटि समयमै सुधार गर्न पनि उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेलगायतको उपस्थिति थियो । सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय, तालिम केन्द्र तथा मातहतका विभिन्न प्रहरी इकाइका प्रमुख र प्रतिनिधि भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।


