साउनदेखि पृतना खारेज गरे,चार कमाण्डको संरचनामा सेना

काठमाडौं । नेपाली सेनाले संगठनलाई कमाण्ड अवधारणामा अघि बढाउने तयारी गरेको छ । नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गर्ने भएको छ । सैनिक संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गीअड्डाको भनाइ छ ।

आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले नदीका आधारमा पूर्वी, मध्य, पश्चिमसहित उपत्यका गरी चारवटा संरचना राख्न लागेको पौडेलले बताए ।हाल ७ वटा प्रदेशमा एक-एक र उपत्यकामा थप एउटा गरी ८ वटा पृतना छन् । सेनाले प्रदेश १, २ र ३ का केही जिल्लासमेत समेटेर कोशी तटीय क्षेत्रलाई पूर्वी र गण्डकीलाई आधार बनाएर मध्य कमाण्ड राख्ने तयारी गरेको छ ।

कर्णाली नदीको आसपासमा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु समेटेर पश्चिम कमाण्ड राख्ने तयारी गरेको छ । राजधानी भएकाले विशेष रणनीतिक महत्व हुने हुँदा उपत्यकालाई पनि छुट्टै कमाण्डमा राखिएको सैनिक प्रवक्ता पौडेल बताउँछन् । ‘सरकारलाई थप आर्थिक भार नपर्ने गरी अहिले भएकै जनशक्ति, संरचना र स्रोत, साधन समायोजन गरेर यो अवधारणामा जान लागिएको छ ।

सेनाले तीन जोड एक कमाण्ड संरचनाको अवधारणा कार्यान्वयन गराउनुअघि पटकपटक जंगीअड्डामा छलफल गरेको थियो । पूर्वसैनिक अधिकृतहरुले पनि अपरेशनका लागि अहिलेका संरचनाको विकल्प कमाण्ड हुने सुझाव दिएका थिए । गत वर्ष प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि कार्यकालको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा सम्पादकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा सेनाको अपरेशन क्षमता विकासका लागि भूराजनीतिक र रणनीतिक परिवेश सुहाउँदो लडाइँ लड्ने ‘इन्टिग्रेटेड कमाण्ड’, ‘इन्टिग्रेटेड इन्टेलिजेन्स सिस्टम’ सहितको ‘तीन जोर एक कमाण्ड’ अवधारणाको विकासका लागि छलफल भइरहेको प्रधानसेनापति थापाले बताएका थिए ।समय-समयमा भएका छलफलबाट नेपाली भू–वनावट र रणनीतिक दृष्टिले उत्तर–दक्षिणमा आधारित कमाण्ड संरचनाअनुसार फौज राख्नु उपयुक्त हुने निष्कर्ष निकालिएको प्रवक्ता पौडेल बताउँछन् । त्यसअनुसार सरकारबाट समेत अनौपचारिक स्वीकृति लिएर सेनाले कमाण्ड संरचनामा जाने तयारी गरेको हो ।

‘यसअघि पनि यो संरचना अभ्यास भइरहेकै थियो, त्यसलाई संस्थागत गर्न खोजिएको मात्रै हो’ सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘बजेटको विषयहरु पनि मिलाउनुपर्ने भएकाले साउनबाट यो पूर्णरुपमा कार्यान्वयनमा आउनेछ ।’सेनाले कमाण्ड संरचनामा जाने गरी गौचरण र सुर्खेतमा एयरवेस स्थापना गरिसकेको छ, पूर्वी कमाण्डका लागि विराटनगरमा प्रस्ताव गरिएको छ । बाँकेको कोशिलानगर र चितवनको शक्तिखोरमा ‘लजिस्टिक बेस’ पनि तयार भइसकेको छ, पूर्वमा महोत्तरीको बर्दिवासमा स्थापनाका लागि स्थान गर्ने तयारी छ ।

यही संरचना अनुसार सेनाले नेपालगञ्ज, पोखरा, इटहरी र काठमाडौंमा सैनिक अस्पतालसमेत स्थापना गरिसकेको छ ।सैनिक प्रवक्ता पौडेलका अनुसार कमाण्ड संरचनाले सैनिक स्रोत, साधनको सन्तुलित तैनाथी र द्रुत परिचालनका लागि सहयोग पुग्नेछ । साथै, प्रकोप व्यवस्थापन, वन्यजन्तु आरक्षणको सुरक्षा, विकास निर्माण तथा खोज तथा उद्धारका लागि फौज परिचालन पनि छरितो हुनेछ ।सैनिक स्रोतका अनुसार जंगीअड्डाले सम्पूर्ण अपरेशनल जिम्मेवारी कमाण्डमा हस्तान्तरण गर्ने तयारी गरेको छ र त्यहाँबाट सीधै बाहिनी हुँदै गण र गुल्म परिचालन हुनेछ ।

कमाण्ड संरचना बनिसकेपछि जङ्गीअड्डा राष्ट्रिय महत्वका रणनीतिक विषयमा केन्द्रित हुनेछ ।‘पहिले पश्चिमका मान्छेलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्यो भने रक्षा मन्त्रालय र जङ्गीअड्डामा प्रक्रिया पूरा गरेर मात्रै टोली हिंड्थ्यो’ एक अधिकृतले भने, ‘अब त्यो अधिकार कमाण्डमै जान्छ, कमाण्डबाट सीधै हवाइ साधन परिचालन हुन्छ ।’

कमाण्ड संरचनाले फौजको दू्रत परिचालन,स्रोत सांधनको उचित व्यवस्थापनाका काम पनि छिटो छरितो हुने सेनाले विश्वास लिएको छ । कमाण्ड संरचना बनिसकेपछि सैनिक मुख्यालय भने नितीगत र रणनीतिक काममा लाग्नेछ । अपरेशनलसहित अन्य कामको हकमा निर्णय गर्ने अधिकार भने कमाण्डमा नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..