बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन : १० लाख मजदुर सडकमा, ५२९ कारखानाको काम ठप्प

काठमाडौं । न्यूनतम मासिक तलब वृद्धि गर्न माग गर्दै बंगलादेशका करिब १० लाख वस्त्र उद्योगका मजदुर आन्दोलनमा उत्रिएका छन् ।राजधानी ढाकासहित देशका प्रमुख औद्योगिक क्षेत्रमा चर्किएको प्रदर्शनका कारण ५२९ वटा कारखानाको उत्पादन पूर्ण रूपमा ठप्प भएको छ ।

बीबीसी बंगलाका अनुसार गत आइतबार मात्रै करिब ९ लाख ८७ हजार मजदुर काममा गएनन् । उनीहरूले हाल कायम १२ हजार ५०० टका मासिक न्यूनतम तलब बढाएर ३० हजार टका पुर्‍याउनुपर्ने माग गरेका छन् ।खाद्यान्न, घरभाडा, यातायात र स्वास्थ्य सेवाको मूल्य निरन्तर बढ्दै जाँदा न्यूनतम तलबले दैनिक गुजारा चलाउनसमेत कठिन भएको मजदुरहरूको गुनासो छ ।

ढाकानजिकका सावर, अशुलिया, मिरपुर र गाजीपुर क्षेत्रमा प्रदर्शन चर्किएको छ । आन्दोलनका क्रममा तोडफोड, सडक अवरुद्ध तथा प्रहरीसँग झडप भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको समाचारमा उल्लेख छ ।प्रदर्शनका क्रममा केही प्रहरीका गाडीमा आगजनी हुनुका साथै कालियाकैरस्थित एउटा गोदाममा समेत आगो लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

आन्दोलन चर्किएपछि प्रधानमन्त्री तारिक रहमानले सचिवालयमा मन्त्री तथा सल्लाहकारहरूसँग आपत्कालीन बैठक गरेका छन् । बैठकपछि गृहमन्त्री सलाहुद्दीन अहमद र श्रम तथा रोजगारमन्त्री आरिफुल हक चौधरीले हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।गृहमन्त्री अहमदले आन्दोलनमा केही नकाबधारी व्यक्ति प्रवेश गरी तोडफोड र हिंसा मच्चाएको दाबी गरेका छन् । सीमापारबाट समेत बंगलादेशको निर्यात व्यापार प्रभावित पार्न उक्साहट भइरहेको उनको आरोप छ ।

त्यस्तै, श्रममन्त्री चौधरीले केही समूहले आगामी डिसेम्बरलाई लक्षित गरी देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।मजदुरहरूको आन्दोलन रोक्न सरकारले ६ सदस्यीय नयाँ तलब बोर्ड गठन गरेको छ ।

श्रममन्त्री चौधरीले मजदुरहरूलाई काममा फर्कन अपिलसमेत गरेका छन् ।तर मजदुरहरूले नयाँ न्यूनतम तलब औपचारिक रूपमा घोषणा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।यसअघि सन् २०२५ मा भएको विद्यार्थी आन्दोलनपछि बंगलादेशमा सत्ता परिवर्तन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..