उदयपुर । उदयपुरमा प्रहरीले ट्रकमा लुकाएर ओसारपसार गर्न लागिएको ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रकबाट गाँजा फेला परेको थियो।सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरो, नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले ट्रक जाँच गर्दा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।


