जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकार प्रमुखको कार्यालयमा छापा मारेकोमा मुख्यमन्त्री लालबाबु राउतले त्यसको कडा विरोध गरेका छन् । अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर गएपछि पत्रकार सम्मेलन गरेर उनले अख्तियारको छापा मार्ने शैली गलत भएको भन्दै त्यसको विरोध गरेका हुन् ।
प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।
अख्तियारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलमा अनियमितता देखिएको भन्दै मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । मुख्यमन्त्री राउतले भने यस अभियानमा कहिँकतै गल्ती वा अनियमितता भएको भए आफू कारवाहीको भागिदार हुन तयार रहेको जवाफ दिएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले भने अख्तियारको कदमप्रति आपत्ति जनाएका छन् । यो प्रदेश सरकार र आफूलाई बद्नाम गर्ने षड्यन्त्र मात्र भएको उनको दाबी छ । तर, अख्तियारले कार्यालयमा एक्कासी छापा मारेर अफिसका फायल नियन्त्रणमा लिनु आपत्तिजन भएको उनको भनाइ छ । अख्तियारले कार्यालयमा छापा मारेर फायलहरु लिएर गएपछि आयोगका प्रमुख प्रेम राईलाई ‘छापा मार्ने शैली ठीक नभएको’ भनेर फोन गरेको सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतले भनेका छन् ।
मुख्यमन्त्री राउत सरकारले निकै प्रथामिकताका साथ अघि सारेको ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ । हालसम्म ४१ हजार २६२ थान साइकल खरिदमा करिव २९ करोड खर्च भएको छ । साइकल खरिद प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ । महालेखा परीक्षकको कार्यालयले पनि प्रतिवेदनमा यसबारे प्रश्न उठाएको छ ।
प्रतिवेदनअनुसार प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।यसबारे उजुरी परेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारको बर्दिबासस्थित कार्यालयका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिए । उनी नेतृत्वको ६ जनाको टोलीले झण्डै ३ घण्टा लगाएर कागजपत्र नियन्त्रणमा लिएको छ ।
पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘यदि यस अभियानमा कहिँकतै अनियमितता भएको भए थप सहयोग र गल्ती देखिएको ठाउँमा कारवाही भोग्न तयार छु । र, कुनै पनि कम्पनीलाई तोकेर त्यहाँ हामी त्यो खरिद गर्न सक्दैनौँ। खरिद गरिएका साइकल सार्वजनिक खरिद ऐन अन्तर्गत छ ।’अनियमितता भयो भनेर समाचार आउनु, अख्तियारको टोली आउनु र तत्काल सबैतिर खबर आउनु षड्यन्त्रपूर्ण भएको उनले बताए ।
सुशासनको सवालमा आफूहरु गम्भीर रहेको भन्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘तपाईहरुले सजिलै फाइल लिएर जान सक्नुहुन्छ । यो तरिका तरिका भएन ।’यसबारे आफूले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग पनि कुराकानी गरेको र उनले पनि तरिका ठीक भएन भनेर स्वीकार गरेको राउतले बताए ।
प्रदेश २ को सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकल कुन कम्पनीबाट खरिद गरेको उक्त नखुलेको पाइएको छ । कम्पनीबाट कति मूल्यमा साइकल खरिद गरेको भन्नेमा अनियमितता देखिएको भन्दै अख्तियारले छापा मारेको छ ।


