विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न, मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनुभएको छ ।
यसै गरी यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न बसपार्क तथा यात्रुहरुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारी साधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
निर्देशनकै क्रममा उहाँले प्रहरी कर्मचारीहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित, इमानदार र सेवामुखी भएर कार्य गर्न, प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न, कार्यसम्पादन सम्झौता तथा अटोमेसन प्रणालीमा उल्लेखित सूचक र जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र परिणाममुखी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन सक्रियरुपमा कार्यगर्नु पर्ने बताउनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण ओलीले कोशी प्रदेश प्रहरी प्रमुख खनाललाई जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा अवगत गराउनु भएको थियो ।


