जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सञ्चालित दुई दिने LMBIS (Line Ministry Budget Information System) क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयका दक्ष प्रशिक्षकहरूद्वारा सञ्चालित उक्त तालिमको समापनका अवसरमा बजेट सञ्चालन तथा समसामयिक विषयवस्तुहरूमा केन्द्रित भई छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले तालिममा सहभागी प्रशिक्षार्थीहरूसँग प्रत्यक्ष छलफल गर्दै बजेट सञ्चालनलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा महत्त्वपूर्ण मार्गदर्शन दिनुभयो।

छलफलका क्रममा डीआईजी अधिकारीले सरकारी बजेटको सही सदुपयोग, प्रणालीगत वित्तीय अनुशासन र समसामयिक आर्थिक व्यवस्थापनका चुनौतीहरूबारे प्रकाश पार्नुभएको थियो।
दुई दिनसम्म सञ्चालित यस क्षमता अभिवृद्धि तालिमले प्रदेशअन्तर्गतका प्रहरी कार्यालयहरूमा बजेट व्यवस्थापन तथा लेखा प्रणालीलाई अझ सुदृढ र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


