बझाङ । बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया भाइबुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुुलाई बझाङ प्रहरीले पक्राउ गरेको हो ।
पीडित युवतीले आइतबार उजुरी दिएपछि पीडकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत्र १२ गते साँझ युवतीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जवरजस्ती करणी गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पीडकलाई केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । स्वास्थ्य परीक्षण गरी पीडितलाई महिला सुरक्षित आवास गृह (सेभ हाउस)मा राखिएको छ ।
भाइबुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई नियन्त्रणमा लिई जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


