प्रधानसेनापति शर्माद्वारा द्रुतमार्गको गुणस्तर र समयसीमाको हेक्का राख्न निर्देशन

काठमाडौँ । २०७८ फागुन २४ गते प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँहरूले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित शिविर र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिनुभएको हो ।


मुुलुकको राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा उच्च प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ । निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न उहाँहरूले ठेकेदार, परामर्शदाता र परियोजना पदाधिकारीलाई निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रधान सेनापति शर्मा र सचिव शर्माले परियोजना गुणस्तर निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा अन्तर्राष्ट्रिय परामर्शदातालाई समेत विशेष निर्देशन दिनुभयो ।सो अवसरमा प्रधानसेनापति शर्माले द्रुतमार्ग आसपासमा बस्ने प्रत्यक्ष÷अप्रत्यक्षरूपमा प्रभावित स्थानीय समुदायलाई परियोजनाबाट समुदायलाई हुने लाभबारे विस्तृतरूपमा जानकारीसमेत गराउनुभयो ।


आयोजनालाई समुदायसमेतको सामूहिक सहभागिता/स्वामित्वमा सञ्चालन गर्न आवश्यक पहल गर्नसमेत सम्बन्धित पदाधिकारी, परामर्शदाता, ठेकेदार एवं तैनाथी भएका प्राविधिक फौजको ध्यानाकर्षण गराइएको थियो ।आर्थिक वर्ष २०७४/७५ मा सुुरु भएको दु्रतमार्ग आयोजना विसं २०८१ को पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने यस दु्रतमार्गको लम्बाइ ७२.५ किमी दूरीको छ ।महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब ६.३१ किमी दोहोरो सुरुङ रहने दु्रतमार्गमा ठूला र साना गरी ८७ वटा पुल रहनेछन् ।

ती पुलको लम्बाइ १०.५९ किमी र सोबाहेक सडकखण्ड ५५.५ किमी रहनेछ । आयोजनाको कूल लागत रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार अनुमान गरिएको छ ।पछिल्लो जानकारीअनुसार, हालसम्म आयोजनाको वित्तीय प्रगति १५ प्रतिशत र भौतिक प्रगति १६ प्रतिशतको हाराहारीमा छ । आयोजनाका लागि हालसम्म करिब रु २६ अर्ब खर्च भइसकेको छ ।

परियोजनाको योजना तर्जुमा, सार्वजनिक खरिद प्रक्रिया, निर्माण, अनुगमन एवं परीक्षण, विद्यमान आर्थिक ऐन, नियमको परिधिभित्र रही प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता एवं अभ्यासलाई समेत आधार लिई कार्यसम्पादन गर्न सम्बद्ध सबैलाई उहाँहरूले निर्देशन दिनुभयो ।

आयोजनाको लागि थप जग्गा प्राप्तिको निमित्त सप्लिमेन्टरी इआएका सम्बन्धमा परेको समस्या तथा चुनौतीबारे प्रधानसेनापति शर्माले आयोजनाका पदाधिकारीसँग छलफल गरी यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..