काठमाडौं । नेकपा (एमाले) मा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरु सहित एउटा पंक्ति पार्टीबाट अलग भएपनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका सार्थ कार्यान्वय गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारी भएको थियो ।
त्यसको कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधानमा भूमिका खेल्न कार्यदल गठन भएको थियो । कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो ।
नेकपा (एमाले) को सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने नेकपा (एमाले) को कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ ।


