नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित

काठमाडौं । पटक–पटक सरेर आउँदो मंसीरका लागि तय भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बनेको छ। सातौं पटकसम्म फेरबदल गरेर बनाइएको कार्यतालिका प्रभावित भएसँगै तोकिएको मितिमा महाधिवेशन नहुने भएको छ।

मंसिर ९ देखि १३ को लागि तय गरिएको १४औं महाधिवेशन सर्ने निश्चित भएपनि नयाँ मितिको टुंगो लागेको छैन। तोकिएको समयमा महाधिवेशन नहुनुलाई संस्थापनइतरले सभापति शेरबहादुर देउवा पक्षलाई दोष लगाएको छ। देउवा पक्षले भने महाधिवेशनको कार्यतालिका निर्वाचन समितिले तय गरे अनुसार हुने बताएको छ।

निर्धारित समयअनुसार तल्लो तहको अधिवेशन हुन नसकेपछि यसअघि पनि पटक-पटक कार्यतालिका संशोधन गरिएको थियो। भदौ १८ मा निर्धारण गरेको समयमा वडा अधिवेशन एकै समय हुन नसकेपछि किस्ता-किस्तामा गरिएको थियो। प्रदेश २ का ८ जिल्लासहित बाँके, सुर्खेत, रसुवा, डोल्पा र कैलालीको वडा अधिवेशन हुन सकेको छैन। रौतहट, बारा र रसुवाको क्रियाशील सदस्यता अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन।

पदाधिकारीको अयोग्यताले पार्टी अवैध हुने अवस्थामा पुगेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाए। मूल नेतृत्वले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलले दल नै अवैध हुने अवस्था आएको उनले प्रतिक्रिया दिए। केही जिल्लाको क्रियाशील सदस्यता नटुंगिनु नेतृत्वको चरम अक्षमता र लापरवाही रहेको उनले बताए। ‘महाधिवेशनको मिति फेरि पनि नसार्न म नेतृत्वलाई चेतावनी दिन चाहन्छु’, उनले भने।

हिमाली २१ जिल्लाको अधिवेशन दशैंअघि गरिसक्ने कांग्रेसका शीर्ष नेताको बैठकको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन।

हालसम्म १३ जिल्लाको अधिवेशन सकिएको छ। मनाङ, मुस्ताङ, गोरखा, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, दोलखा, कालीकोट, हुम्ला, रुकुमपूर्व, बाजुरा र बझाङ जिल्लाको अधिवेशन सकिएको छ। २१ हिमाली जिल्लाध्ये अधिवेशन हुन नसकेका आठ जिल्लामा सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, दार्चुला, धादिङ र म्याग्दी छन्। रसुवाको क्रियाशील सदस्यता टुंगिएको छैन भने सिन्धुपाल्चोकमा ३ वडामा अधिवेशन रोकिएको छ।

यसअघि तोकिएको कार्यतालिका प्रभावित भएपनि नयाँ तालिका सार्वजनिक गरिएको छैन। दशैंलगत्तै केन्द्रीय समिति बैठक बसेर नयाँ कार्यतालिका सार्वजनिक गरिने शीर्ष तहमा सहमति बनेको थियो। तर, केन्द्रीय समितिको बैठक डाक्ने कुनै पहल भएको छैन। बैठक आयोजना नभएसँगै नेताहरु जिल्ला दौडाहमा लागेका छन्।

कांग्रेस सभापति देउवाले नयाँ कार्यतालिकाको सम्पूर्ण अधिकार निर्वाचन समितिमा रहेको बताएका छन्। वर्षा प्रभावित सुदूरपश्चिम पुगेर फर्कने क्रममा धनगढीमा आयोजित पत्रकार सम्लेनमा उनी निर्वाचन समितिले तोके अनुसार अधिवेशन हुने भन्दै पन्छिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..