काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार १० बुँदे सहमतिको पूर्ण कार्यान्वयन आवश्यक नरहेको अभिव्यक्ति दिए। बुधबार एमाले बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले १० बुँदेको सन्दर्भलाई एकतारेसँग तुलना गर्दै त्यसलाई बजाउनु आवश्यक नभएको बताए।एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा दश बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरू भएको बैठकमा दश बुँदे सहमति गरी एमालेमै रहेका नेताहरुले ओलीसँग जवाफ मागेका थिए ।
बागमती प्रदेश आयोजक कमिटीको बैठकमा बुधबार अध्यक्ष ओलीले माधव नेपालले पार्टी नफुटाओस् भनेर मात्र १० बुँदे सहमति गरिएको भन्दै अब त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए । ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर दश बुँदे गरिएको थियो । अब के दश बुँदे, दश बुँदे, दश बुँदे ?’, ओलीको भनाइ थियो ।ओलीको यो अभिव्यक्तिले एमालेमा १० बुँदे सहमतिलाई अक्षरश कार्यान्वयन हुनुपर्ने माग राखिरहेका नेताहरुलाई सशंकित बनाएको छ। पार्टीको विधान महाधिवेशनलगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि यस विषयलाई नेताहरुले उठाएका छन्।
पार्टी अध्यक्षले दिएको अभिव्यक्तिले एमालेभित्र एक खालको तरङ्ग ल्याएको छ।बुधबार नै उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूसालले सामाजिक सञ्जाल मार्फत् अध्यक्ष ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा भने नेताहरु रघुजी पन्त र घनश्याम भुसालले ओलीसँग जवाफ मागे ।
बैठकको शुरुमै पन्तले ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । ‘तपाईंले हिजो के बोल्नुभएको ? जुन कुरा कार्यान्वयन गर्नैपर्नेछ’, पन्तले सोधेका थिए ।
बैठक स्रोतका अनुसार, १० बुँदे सहमति गर्ने बेला ओलीले बोलेको कुरा समेत पन्तले सम्झाएका थिए ।‘माधव नेपाल नआए पनि म दश बुँदे कार्यान्वयन गर्छु भन्नुभएको होइन ? तर अहिले माधव नेपालका लागि हो भन्न मिल्दैन’, पन्तको भनाइ थियो । दश बुँदे सदाकालका लागि नरहने, तर आउँदो महाधिवेशनसम्म कार्यान्वयन गरिसक्नुपर्ने पन्तले बताए ।भावनात्मक र मनोवैज्ञानिक रुपमा पार्टी विभाजित अवस्थामै रहेको भन्दै पन्तले त्यो भावनात्मक र मनोवैज्ञानिक विभाजनलाई मेट्ने कामको अगुवाइ पनि ओलीले नै गर्नुपर्ने धारणा राखे ।
‘पार्टीमा मनोवैज्ञानिक र भावनात्मक विभाजन छ । त्यसलाई मेट्नुपर्छ । त्यो मेट्ने कुराको अगुवाइ पनि अध्यक्षको हैसियतमा तपाईंले गर्नुपर्छ’, पन्तले भनेका थिए ।पन्तले लामै समय बोलेपछि भने अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनबारे शुक्रबारको बैठकमा छलफल हुने बताए । तर विधान महाधिवेशनको समीक्षाका क्रममा भुसालले ओलीसँग फेरि केही प्रश्न गरे ।
भुसालले अध्यक्ष ओलीमा नवौं महाधिवेशनको धङधङी बाँकी नै रहेको टिप्पणी गरे । त्यो धङधङी अभिव्यक्तिमा प्रकट भएको भुसालको आरोप थियो । ‘तपाईंसँग नवौं महाधिवेशनको धङधङी बाँकी नै छ, आग्रह र पूर्वाग्रह छदैछ’, भुसालले प्रश्न गरे, ‘यो कहिलेसम्म ?’तर ओलीले भने आफूले कसैलाई पूर्वाग्रह नराखेको छोटो जवाफ दिए । बैठकपछि सचिव प्रदीप ज्ञवालीले दश बुँदे कार्यान्वयनबारे शुक्रबारको बैठकमा छलफल हुने बताएका छन् । ‘केहीकेही ठाउँमा समस्या छ, इस्यूमा छलफल गर्छौं । राष्ट्रब्यापी रुपमा छलफल चलाइरहनु पर्दैन’ ज्ञवालीको भनाइ थियो ।
गएको २७ असारमा १० बुँदे सहमति गरी माधव नेपालको पार्टीमा नगई स्थायी कमिटीका १० नेता एमालेमै बसेका छन् । उक्त १० बुँदे सहमतिमा मूलतः पार्टी संरचना २०७५ जेठ २ को अगाडिको अवस्थाबाट सञ्चालन हुने सहमति छ । तर सूदुरपश्चिम, बागमती र प्रदेश–२ का केही जिल्लामा सहमति कार्यान्वयन हुन सकेको छैन । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नुअघि पार्टी एकता कायम राख्न भन्दै १० बुँदे सहमति गरिएको थियो। तर, नेता नेपालले पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिसकेका छन्।
नेता नेपाललाई छाडेर ओलीसँग एमालेमै फर्केका उपाध्यक्ष रावललगायत नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन्। अध्यक्ष ओली भने त्यसमा सकारात्मक थिएनन्।बिहीबारको पार्टीको स्थायी कमिटीको बैठक र सामाजिक सञ्जालमार्फत् नै नेताहरुले १० बुँदे कार्यान्वयनको विषयमा कुरा उठाएपछि भने यसमा ओली छलफल गर्न तयार देखिएका छन्।बिहीबार स्थायी कमिटीको बैठक बस्नुअघि १० बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको बैठक बसेको थियो।


