काठमाडौं । काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सोमबार बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल भवनमा साढे ६ बजे नै पुगे ।
दसैंका कारण काठमाडौँ छाड्ने यात्रुको चाप टर्मिनलमा अत्यधिक थियो। सोमबार पनि ३ सय १२ वटा आन्तरिक उडानको सूची थियो। मौसम खराबी कारण काठमाडौँ बाहिरका सबै विमानस्थल नखुलिसकेकाले टर्मिनल भवनमा यात्रुको भीडभाडमै मन्त्री आलेले त्यहाँको व्यवस्थापन नियाले।
मन्त्रीले आन्तरिक विमानस्थल अनुगमन गर्ने खबर पाएपछि उनीभन्दा अघि नै त्यहाँ पुगिसकेका आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले कोरोना संक्रमणको प्रभाव घटेसँगै यात्रुको भीड अत्यधिक बढेकाले टर्मिनल साँघुरो भएको बताए। मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख चुडाललाई भवन भित्र रहेको क्याफे सोनिगाले अत्यधिक महँगो दरमा चिया/कफी बिक्री गरिरहेको गुनासो सेवाग्राहीबाट आएको भन्दै मूल्यबारे निगरानी गर्न निर्देशन दिए।
मन्त्री आलेले आफू पनि एयरपोर्टमा रहेका ट्याक्सीबाट २/३ पटक बिना मिटर ठगीमा परेको घटना बताउँदै विमानस्थलका एसएसपी राजेशनाथ बाँस्तोलालाई त्यसबारे अनुगमन गर्न भने। ‘यहाँका ट्याक्सीमा मिटर छैन की क्या हो?,’ उनले एसएसपी बाँस्तोलालाई भने, ‘मनलाग्दी छ। कालो ट्याक्सीवालाले बार्गेनिङ गर्छन्। म पनि एकदुईपटक परेको छु। राति १ हजार माग्छ। धेरै पटक मै पनि परेको छु। राति हिँडेर जान सकिँदैन। यो कसले हेर्ने हो। ध्यान दिनुहोस्।’
ट्याक्सीपछि उनले आइतबारको भोजपुर उडानमा छुटेका ७ यात्रुको घटनाबारे जानकारी लिन निगमको त्यहाँ रहेको कार्यालयका कर्मचारीलाई बोलाए। मन्त्रीलाई सोमबार बिहानको ड्युटीमा रहेकी अधिकृत रिता बाँस्कोटा, सिनियर असिस्टेन्ट गोविन्द रायमाझी, होम पोखरेल, डिस्प्याचर सुरेश श्रेष्ठ लगायतका कर्मचारीले भोजपुर उडानमा ७ यात्रु छुटेको घटनाबारे बेलिबिस्तार लगाए। उनीहरूको भनाइ थियो, ‘विमानस्थल कार्यालयका कारण नभई न्युरोडमा रहेको मुख्य कार्यालय अन्तर्गत टिकट बिक्री गर्ने ‘सेल्स–अफिस’को कमजोरीले यात्रु छुटेको।’


