काठमाडौं। अमेरिकी डलरको भाउमा सातायता निरन्तर उक्लिन थालेको छ। दुई साताअघि निरन्तर घटेर ११७ रुपैयाँ ११ पैसाको स्तरमा पुगेको डलर शुक्रबार ११९ रुपैयाँ सात पैसामा उक्लिएको हो।
एक सातामा डलरको भाउ २ रुपैयाँ ५९ पैसाले बढेको हो। डलरको भाउ पछिल्लो समय झरेको न्यूनतम स्तरबाट एक रुपैयाँ ३४ पैसाले उक्लिएको हो। नेपाल राष्ट्र बैंकले शुक्रबाका लागि ‘रिफ्रेन्स रेट’ ११९ रुपैयाँ ७पैसा तोकेको छ।
अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहँदा डलरमा सुधार आएको हो। यसले भारतीय मुद्रा प्रभावित भएको छ। यही कारण डलरको भाउ बढ्न थालेको हो।
नेपाली र भारतीय मुद्राबीच विनिमय दर स्थिर छ। भारु १०० बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दरका कारण भारु तल-माथि हुँदा नेपाली रुपैयाँ पनि तरंगित हुन्छ।डलरको भाउ कमजोर हुँदा देशलाई तुलनात्मक रुपमा फाइदै हुन्छ। रेमिटेन्स आयमा भने प्रभावित हुन्छ। डलरको भाउ घट्दा आयातित वस्तुको मूल्य सस्तो पर्न जान्छ।
डलरको भाउ कमजोर हुँदा रेमिटेन्स घट्न थालेको थियो। कतिपयले बढेपछि पठाउँछु भनेर पनि रेमिटेन्स रोकेका थिए। भाउ बढ्दा रेमिटेन्स आयमा स्वत बृद्धि त हुन्छ नै पठाउन पनि प्रोत्साहन मिल्छ।


