काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार मुलुक र जनताप्रति पूर्णरुपमा उत्तरदायी भएर काम गर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र रुकुम (पश्चिम)–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै शर्माले आफू अर्थमन्त्री भएर आएपछि बजेटको प्रतिस्थापन बिधेयकमार्फत धेरै जनताकेन्द्रित कार्यक्रम ल्याएको समेत बताएका छन् ।
अर्थमन्त्री शर्माले वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरु गरिसकेको बताए । उनले सरकारले पहिलो पटक गरिब र विपन्नहरुलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको र दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको दावी गरे ।
मलुकमा देखिएका समस्या समाधानका लागि समय तोकेर नै कार्ययोजनामार्फत् काम गर्न लागिएको उनको भनाइ छ । माओवादी स्थायी समिति सदस्य समेत रहेका शर्माले उत्पादनसँग जोडिएको संगठन नभइ समाजवादमा जान नसकिने उल्लेख गरे ।


