महोत्तरी । महोत्तरीमा आर्केस्ट्रा नाचको कारणले भएको झडपमा एकजनाको ज्यान गएको छ ।शनिबार राति सोनमा गाउँपालिका– ७ सुन्दरपुर मैनटोलमा आयोजित आर्केस्ट्रा नाच हेर्ने क्रममा एकजना युवकमाथि कुटपिट भएको निहुँमा झडप भएको थियो ।सोही क्रममा एकजना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार झडपमा परि ५० वर्षीय रामप्रसाद यादवको ज्यान गएको हो ।
कुटिएका युवाको अभिभावक र गाउँका अन्य व्यक्तिहरू कुटपिट गर्नेको घरमा पुगेपछि दुई पक्षबीच झडप भएको थियो।झडपमा थप दुईजना घाइते भएका छन्। प्रहरीका अनुसार नाच हेर्न पुगेका सोनमा गाउँपालिका– २ तरहारीनिवासी सरोज यादवलाई कुटपिट गरी उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेठी सदाले खोसेका थिए।
सोही सामग्री लिन र आफ्नो भाइलाई किन कुटपिट गरेको भनी सोध्न गएका सरोजका भाइ मुकेश यादवसहितको दर्जनौँको समूहमाथि स्थानीय बिलटु सदासहितका व्यक्तिहरूले कुटपिट गरेका थिए।छोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादवलाई समेत कुटपिट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए।
उनको उपचारकै क्रममा गौशालास्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो।प्रहरीले घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएको छ।


