फुटको संघारमा विवेकशील साझा


काठमाडौं । विवादको भूमरीमा फसेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक अलग–अलग भए ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डले छुट्टाछुट्टै समयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाए ।बैठकका एजेन्डामा कुरा नमिलेपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेले बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक बोलाए ।

‘पार्टीमा सिर्जना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासबारे छलफल गर्न अध्यक्षले केन्द्रीय समिति बैठक बोलाउनुभएको छ,’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले भने, ‘पटक-पटक कुराकानी गर्दा पनि अध्यक्ष र संयोजकबीच एजेन्डामा सहमति हुन सकेन।

त्यसपछि पार्टीभित्र उत्पन्न गतिरोध अन्त्य गर्न अध्यक्षले प्रचलित अभ्यास र कानुनको सहारा लिएर गाँठो फुकाउन केन्द्रीय समिति बैठक बोलाउनुभएको छ।’विवेकशील साझा पार्टीमा पछिल्लो पटक अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहसहितको विचार अगाडि सारेका थिए। त्यसको केही समयपछि संयोजक पाण्डे, नेताहरू नेता रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पंगेनीले अर्को प्रस्ताव छलफलका लागि ल्याएका थिए।उनीहरूले मुख्यगरी गणतन्त्रको सुदृढिकरण, धर्मनिरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आवश्यकता रहेको प्रस्तावमा उल्लेख गरेका थिए।

केन्द्रीय समिति बैठक हुनुभन्दा एक दिन अगाडि बुधबार अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच इमेलमा जुहारी चलेको थियो। एकअर्कामाथि उठाइएका प्रश्नबारे उनीहरूले इमेलमार्फत् प्रष्टाउन खोजेका थिए। पार्टी अध्यक्षलाई निहित हुने अधिकार उपयोग गर्दै आफूले केन्द्रीय समिति बैठक बोलाएको मिश्रले उल्लेख गरेका छन्। उनले केन्द्रीय सदस्यहरूलाई पठाएको इमेलमा ‘अध्यक्ष र संयोजकबीच समझदारी र सहमति हुन नसकिरहेकोले प्रचलित अभ्यासलाई अंगिकार गर्दै तथा पार्टी अध्यक्षमा निहित हुने अधिकारको उपयोग गर्दै वर्तमानको गाँठो फुकाउन खोजिएको’ उल्लेख गरेका छन्।


‘अध्यक्ष र संयोजकबीच समझदारी र सहमति हुन नसकिरहेकोले प्रचलित अभ्यासलाई अंगिकार गर्दै र पार्टी अध्यक्षमा सोही अनुरुप निहित हुने अधिकारको उपयोग गर्दै वर्तमानको गाँठो फुकाउन केन्द्रीय समितिको जुम वैठक आह्वान गरेको छु। जुम लिन्क बैठककै दिन केन्द्रीय समितिको च्याट बक्स र इमेलमा पठाइनेछ,’ अध्यक्ष मिश्रले पठाएको इमेलमा उल्लेख छ।


उनले हाल पार्टीमा अध्यक्ष र संयोजकबीच समझदारी हुन नसकेको अवस्था रहेको पनि केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका छन् भने यस्तो अवस्थामा पार्टी बन्धक बनेर रहन नसक्ने पनि उल्लेख गरेका छन्। उनले केन्द्रीय समितिलाई एक सय ३० सदस्यीय बनाइएको पनि निर्वाचन आयोगबाट पुष्टि भएको बताएका छन्। पार्टीभित्र देखिएका अन्यौलबाट जतिसक्दा छिटो मुक्त भई स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने अध्यक्ष मिश्रको भनाइ छ।

‘पार्टीभित्रको वर्तमान अन्यौलबाट सक्दो छिटो मुक्त भएर स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने हुन्छ। वर्तमान अवरूद्धता कायम रहेसम्म र त्यसले आउँदा दिनमा सिर्जना गर्ने अन्य समस्याको लहरोका माझ हामी अघि बढ्न सक्दैनौं,’ उनले भनेका छन्। यस्तै अध्यक्ष मिश्रले इमेल गरेर केन्द्रीय समिति बैठक बस्ने जानकारी केन्द्रीय सदस्यहरूलाई पठाएपछि संयोजक पाण्डेले पनि बेग्लै बैठक बोलाए ।


पार्टी विधानको दफा २०(१०) अनुसार केन्द्रीय अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने र एजेन्डा तय गर्ने गरिएकोमा यसपटक त्यो प्रयास सफल हुन नसकेको भन्दै संयोजक पाण्डेले पनि इमेल गरेर बैठक बोलाएका छन्। ‘पार्टीका अध्यक्षले उहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नु भएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु,’ संयोजक पाण्डेले केन्द्रीय सदस्यहरूलाई पठाएको इमेलमा उल्लेख गरेका छन्।

बैठक सञ्चालन कार्यविधि पारित गर्ने, विधान कार्यदलले पेश गरेको पार्टीको विधान मस्यौदामाथि छलफल गरी पारित गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशालाको स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारे, समसामयिक राजनीतिक प्रस्ताव, एकताको महाधिवेशनबारे, पार्टी प्रवक्ता नियुक्ति, पार्टी सङ्गठन सुदृढीकरण अभियानको लागि कार्यदल गठन गर्ने, प्रमुख राष्ट्रिय मुद्दा (युवाका मुद्दा, सूचनाको हक, नोट चल्ने भोट नचल्ने आदि) मा अभियान सञ्चालन गर्नेलगायत एजेन्डामाथि छलफल गर्न संयोजक पाण्डेले केन्द्रीय समिति बैठक राखेका हुन्।

प्रवक्ता शरदराज पाठकले भने संयोजक पाण्डेले आफूखुसी एजेन्डा तय गरेर केन्द्रीय समिति बैठक राखेको बताए। ‘एक-डेढ महिनाको अवधिमा कयौं पटक अध्यक्षले संयोजकसँग कुराकानी गर्नुभयो। तर उहाँहरू सहमत हुन सक्नुभएन। तर पार्टीलाई सधैं अनिर्णयको बन्दी बनाइराख्न त भएन नि!,’ पाठकले भने।

यसअघि तत्कालीन विवेकशील पार्टी र साझा पार्टी २०७४ साउन ११ मा एक भएका थिए। त्यसपछि २०७५ पुसमा उनीहरू विभाजित भएका थिए। २०७७ मंसिरमा विवेकशील र साझा पार्टी एकता भएको थियो। २६ सदस्यीय सचिवालय र ६५/६५ सदस्यीय केन्द्रीय समिति बनाउने त्यसबेला सहमति भएको थियो। एकताका बेला ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भए पनि महाधिवेशन नहुँदै विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको हो। एजेन्डा नै फरक परेपछि काम गर्न गाह्रो छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..