काठमाडौं । असम्बैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हरेक सभामा उनले भ्रमपूर्ण कुरालाई आधार बनाएर भाषण गर्दैआएका छन् ।
सामाजिक संजालमा आफ्ना साइबर सेनाले अर्को समूहका बिरुद्ध सेयर गरेका बर्षौअघिका तस्वीर र तथ्यलाई आधार बनाएर ओलीले भाषणमा त्यो कुरा उल्लेख गर्दैआएका छन् । प्रधानमन्त्रीलाई सबै जानकारी नहुन सक्छ । भ्रमपूर्ण तथ्यका बारेमा सल्लाहकारले जानकारी दिनुपर्ने हो ।


शुक्रबारको नारायणहिटी सभामा पनि उनले आफ्नो सरकारले चालेका कदमको बचाउ गर्न त्यस्तै भ्रमपूर्ण कुराहरुको सहारा लिए । नेकपा वाग्मती प्रदेशद्वारा आयोजित आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२ गतेको नेकपा प्रचण्ड–माधव समूहले बन्द गरी तरकारी सडकमा फालेको प्रसंग उल्लेख गरेका छन् । उनले भने, हिजो तथाकथित नेपाल बन्द गरियो ।
नेपाल बन्द गर्दा के गरियो ? गरिबका लागि काम गर्ने भन्ने तर श्रमजीवीका लागि काम गर्ने हैन, बुढीआमाले टमाटर, साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरि छरेर क्रान्ति गर्न खोजियो । तर तथ्य जाँच गर्ने फ्याक्ट चेक नेपालले ती तस्बिर भारतको महाराष्ट्रको किसान आन्दोलनको र नेपालमै तीन वर्षअघिको घटनाको भएको फेला पारेको भए पनि उनले भ्रमपूर्ण प्रचारका आधारम भाषण गरे ।
यसअघि भीम रावलले भन्दै नभनेको महिलाको किड्नी प्रत्यारोपण गरेको भन्ने कुरामा पनि उनले पटक पटक उल्लेख गर्दै आएका छन् । जबकि रावलले जुन कार्यक्रममा उक्त कुरा भने भनेर समाचार बनाइयो, उक्त अनलाइनले नै क्षमायाचनासहित खण्डन गरिसकेको छ । र, रावलले बोलेको भिडियो हेर्दा पनि उनले त्यो कुरा भनेको देखिंदैन ।