नेकपाको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? – राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजकिशोर यादवले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गरेका छन् ।

मंगलबार (आज) काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘अहिले नेपाल विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । अनपेक्षित घट्ना घटित भैरहेका छन् । नेकपालाई नेपाली जनताले झण्डै दुई तिहाई जनमत दिएर सरकारमा पठाएको हो ।

जनताले नेकपालाई देशलाई स्थिरता र समृद्धितर्फ लैजान जनादेश दिएका थिए । तर, नेकपाको आन्तरिक विवाद र कलहले गर्दा आज मुलुक नै एकप्रकारको विषम परिस्थितिबाट गुज्रिनुपरेको छ ।

संसद विघटन गरिएको छ । त्यसको विरुद्धमा नेकपाकै अर्को प्रमुख नेताहरुले अहिले सडक आन्दोलन र संघर्ष गरिरहेका छन् । यो विषयमा सर्वोच्च अदालतमा छलफल भैरहेको छ । नेपाली समाज विभाजित र अन्यौलग्रस्त अवस्थामा आज छ ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिलेको घट्नालाई राजनीतिक विकासक्रमलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि जोड दिए । उनले भने, ‘लोकतान्त्रिक राजनीतिक अभ्यासकै कुरा गर्ने हो भने २००७ सालदेखि अहिलेसम्म विभिन्न चरणमा संविधान लेखनका काम भए ।

लोकतन्त्र संस्थागत गर्ने काम भयो । र फेरि पछाडि फर्किने काम भयो । अहिले चुनाव कि संसद पूनःस्थापना भनेर जवाफ खोज्नुभन्दा यो स्थिति बारम्बार किन उत्पन्न हुन्छ ? भनेर सोध्नुपर्छ । दुई तिहाईको प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस नगरी जुन अवस्था आयो । यो गम्भीर राजनीतिक दुर्घटना हो ।’

उनले नेपालको संविधान अनुसार संसद् विघटनको कार्य आपत्तिजनक भएको पनि टिप्पणी गरे । उनले भने, ‘यो विघटन असंवैधानिक, अलोकतान्त्रिक हो, संविधानमा नै नभएको, हुँदै नभएको अधिकार प्रयोग भएको छ ।

सामान्य कानूनको अध्ययन गर्नेले यो कुरा भन्नसक्छ । यो घट्ना घटित भयो भनेर बुझ्नुहुँदैन् । संविधान निर्माण प्रक्रिया नै गलत भयो भनेर हामीले त विमति राखेका थियौं । त्यतिवेला हामीलाई क्षेत्रियता, जातीयतावादी, विखण्डनवादी भनियो । संसद विघटन यो असंवैधानिक कार्य हो ।

संविधान लेखन प्रक्रिया नै त्रुटिपूर्ण भएकोले यो घट्ना घटित भएको हो । संविधान निर्माण प्रक्रिया नै रातारात मिलेर त्यो पनि सीमित नेता मिलेर फाष्ट–ट्रयाकमा जारी गर्ने कोशिस भयो, त्यसको परिणीतिले आज मुलुकले यो अवस्था भोग्नुपरेको छ ।

नेपाली जनताले अब हिजो कुन÷कुन नेताले कसरी भूमिका खेले, त्यसलाई मूल्यांकन गर्नुपर्छ । जे भैरहेको छ, त्यो राम्रो भैरहेको छैन् । अब जनताले चाहेको राजनीतिक प्रणली र विकास, त्यो अनुसार अघि बढ्नुपर्छ । मुलुकको लोकतन्त्र स्थापित हुन्छ ।’

उनले प्रधानमन्त्री ओलीले चुनाव घोषणा गरेको सुनाउँदै भने, ‘चुनावको मिति घोषणा गरिएको छ, वैशाखमा चुनाव हुने कुनै छाँटकाँट देखिएको छैन् । नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोग गएको स्थिति छ ।

पार्टीको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधिन छ । राजनीति अनिश्चिततातर्फ गैरहेको छ । यो शुभसंकेत होईन् ।’

यादवले संसद पूनःस्थापना हुन्छ भनेर अहिले कसरी भन्न सकिन्छ ? भन्दै आफूहरु अदालतको निर्णयको प्रतिक्षामा रहेको सुनाए । उनले भने, ‘अहिले यस सम्बन्धमा टिकाटिप्पणी गर्नुभन्दा पनि अदालतले सम्मानजनक निर्णय गर्ला । र, अदालतको निर्णय आएपछि हाम्रो पार्टीले आधिकारिक निर्णय गर्ला ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..