काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेट्नु भएको छ । मन्त्री थापाले सुदर्शनलाई मंगलबार बिहान भेट्नु भएको हो ।
स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुग्नुभएको थियो । त्यसैक्रममा मन्त्री थापाले सुदर्शनसँग वार्ता गर्नुभएको हो । विप्लव समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने प्रयास गरिरहेकाे बुझिएकाे छ । यसै क्रममा वार्ताको प्रक्रिया अघि बढाउन थालिएकाे छ । त्यसका लागि सरकारले आफूनिकट विभिन्न समूहलाई परिचालनसमेत गरेको बुझिएको छ ।
यसअघि विप्लव नेतृत्वको नेकपाले पनि वार्ता गर्न सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलालगायत नेताहरूको टोली बनाएको थियाे । वार्ता टोली बनाए लगत्तै बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको थियो ।
काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली पक्राउ भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।