ठगीको आरोपमा चार जना पक्राउ


जाजरकोट। जिल्ला प्रहरी कार्यालय जाजरकोटले सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका विभिन्न वडाबाट रकम संकलन गरेर स्थानीयलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

नक्कली कागजात बनाएर ठगि गर्दै आएका उनीहरुलाई भेरी नगरपालिका –४, शान्ति चौताराबाट नियनत्रणमा लिइएको डीएसपी थापाले बताए ।

डीएसपी थापाका अनुसार पक्राउ पर्नेमा चन्दननाथ–९, जुम्ला स्थायी ठेगाना भई हाल नेपालगञ्ज बस्दै आएका २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाँउका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, बारेकोट–१, रामीडाँडाका ४० वर्षीय हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ वर्षीय मानबहादुर महतारा रहेका छन् । खानतलासी गर्दा उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रलाई अवलोकन गरी जाजरकोट, डोल्पा, कालीकोट, रुकुममा सोलार र सुधारिएको चुलो विरतण गर्ने भन्दै ठगी गरेका थिए ।

सोलार र चुलोको मूल्य २५ हजार पर्ने भएपनि २१ हजार दुई सय ५० रुपैयाँमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र ग्रामिण विकास तथा क्लिन इन्भरमेन्टले बेहोर्ने भन्दैै स्थानीयलाई झुक्याएका थिए । एउटै वडाबाट ६ लाख रुपैयाँसम्म संकलन गरेको प्रहरीको भनाइ छ ।

भरपाई लगायतका कुरामा शंकास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकोले स्थानीय ठगिन पुगेको उनले बताए ।

उनका अनुसार आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले आइतबार एक विज्ञप्ती प्रकाशित गरी केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको थियो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..