काठमाडौं । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पहिलोपटक सैनिक शैलीमा मनाएको छ । मोर्चाले घोषणा गरेको नागरिक सेनाले आज बिहान ८:१५ बजे राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सिंहदरबारको पश्चिमी द्वारका अघिल्तिर रहेको पूर्ण कदको शालिकमा ग्रेटर नेपालको राजनीतिक नक्सा टाँग्नुका साथै पुष्पगुच्छा अर्पण गरेको थियो ।
फ्री कम्ब्याट शैलीमा जाने घोषणा गरेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नागरिक सेनासहित आज बिहानै सिंहदरबारको पश्चिम द्वारमा पुगेर सेनाले प्रयोग गर्ने प्रकारको गोलाकार पुष्पगुच्छासहित सैनिक सलाम अर्पण गरेको थियो । सलामीमा नागरिक सेनाका प्रधान सेनापति र सीमित संख्यामा पृतनापतिहरूको उपस्थिति थियो । दुईजना पृतनापतिले पुष्पगुच्छा बोकेर शालिक अघि पुर्याएपछि नागरिक सेनाका परमसेनाधिपति भनिएका मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पुष्पगुच्छा अर्पण गर्दै सलामी चढाउनुसँगसँगै पृतनापतिहरूले पनि सलाम गरेका थिए ।
नागरिक सेनाले यो कार्यक्रम यति छिटो गर्यो कि त्यहाँ उपस्थित सुरक्षाकर्मीले के गर्न लागेको हो भन्ने नै बुझ्न सकेनन् । सलामी सकिनासाथ मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हाम्रा संवाददातासँग कुरा गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले दुई वर्ष अघि नै ल्याएको नागरिक सेनाको अवधारणालाई पृथ्वी जयन्तीका अवसरमा मूर्त रूप दिइएको र आजदेखि नागरिक सेनामा भर्ती खोलिएको बताएका छन् ।
उनले सरकारले कडा सुरक्षा घेरा बनाएको थाहा भएकोले आफ्ना सैनिकहरू भद्रकाली, बग्गीखाना, रत्नपार्क, कालिकास्थान र माइतीघरमा निरीक्षणमा खटिएका हुँदा थोरै मात्र सलामीमा उपस्थित भएको भनेका छन् । के यो नेपाली सेनालाई चुनौती हो ? भन्ने प्रश्नको उत्तरमा नागरिक सेनाले हतियार नबोक्ने हुँदा आफूहरु नेपाली सेनाको सहयोगी मात्र भएको बताएका छन् । थोरै पत्रकारसँग करिब २ मिनेट कुरा गरेपछि उनी भूमिगत शैलीमा अदृश्य भएका थिए ।