काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बडादसैंका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको मौलो पूजाका क्रममा प्रहरी महानिरीक्षक कार्कीले बलि पूजा र निशानमा पञ्जा छाप लगाएका हुन् ।
मौलो पूजामा विशेष कार्य गरेका प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतलगायतले मौलो परिक्रमा गरेका थिए । पूजाविसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराएपछि सहभागीहरूले पूजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका हुन् ।
प्रहरी मुख्यालयका अनुसार नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट प्राप्त भएको हो। प्रहरीको निशानमा दुईवटा झण्डा छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा रामधनुषको चिह्न अंकित छ भने सहायक निशानमा सूर्य र चन्द्रका चिह्न छन्।
राष्ट्र र नागरिकको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न र संगठनका कार्यसम्पादनमा कुनै अनिष्ट नहोस् भन्ने कामनासहित निशान झण्डालाई शक्तिपीठ तथा इष्टदेवताको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहिआएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेदेखि हरेक वर्ष बडादसैं र चैतेदसैंमा मौलो पूजा गर्ने चलन छ ।


