काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले २०७८ कार्तिक १६ गते पूर्वी कमाण्ड हे.क्वा. हिले तथा बरख गणको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान प्रधान सेनापतिबाट कमाण्ड हे.क्वा.मा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना र प्रदेशहरुसँगको समन्वयको व्यवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरिएको थियो ।
भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्माले २०७८ कार्तिक १७ गते मकवानपुर जिल्ला, भीमफेदीस्थित चिसापानी गढीको संरक्षण, प्रवर्द्धन तथा उचित व्यवस्थापन गर्नको निमित्त स्थापना हुन लागेको “गढी संरक्षण तथा सौन्दर्यीकरण आयोजना” को शिलान्यास कार्यक्रम सम्पन्न गरी काठमाण्डौं फिर्ता हुने योजना रहेको छ ।


