श्रीमती र छोरीमाथि एसिड प्रहार गर्नेलाई दोषी ठहर गरेको अदालतले बेच्नेलाई सफाई दियो

जनकपुर। धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।सोमबार अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २७ वर्षीय सञ्जीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गङ्गाकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार सोही घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको छ । गत कात्तिक २९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो । घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।

दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी तीनवटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकामा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो ।

यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानुन व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जीवलाई सजायका लागि पेसी हुने बताए । अदालतले दोषी ठहर गरिसकेपछि अब अर्काे पेसीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिए। ‘सजायको सन्दर्भमा सरकारी वकिलबाट प्रतिवेदन माग गरिएको छ’, उनले भने, ‘त्यो पेस भएपछि सजाय तोकिनेछ ।’

चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नाका साथै घाँटी, छाती लगायतका शरीरको आधी अङ्ग जलेर कुरुप बनेका छन् ।

एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकामा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..