काठमाडौं । लागुऔषध कोकिनसहित प्रहरीले १३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न स्थानबाट १ किलो ५ सय १२ ग्राम कोकिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो । बरामद गरेको कोकिनको बजार करिब साढे चार करोड बराबरको रहेका प्रहरीले जनाएको छ ।


प्रहरीले साउन ७ गते काठमाडौंको पकनाजोलको एक होटलबाट चार जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुबाट ५ सय ग्राम कोकिन फेला परेको थियो । पक्राउ परेकामध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए ।
प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ । साउन १० गते चितवन भरतपुर महानगरपालिका ७ बाट गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको र त्यसपछि अनुसन्धान गर्दै जाँदा थप व्यक्ति पक्राउ गरेको थापाले बताए ।



