लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही

सर्लाही । सर्लाहीको नेपाल-भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन्। नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागुऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समय सुस्ताएको अवैध लागुऔषधको ओसारपसार फेरि बढेको पाइएको हो। पछिल्लो समय जिल्लास्थित नेपाल-भारत सिमानाको यो क्षेत्र लागुऔषध ओसारपसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ।

छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर तस्करहरुले भारतीय बजारमा पुर्‍याउने गरेका छन्। खोलाको बाटो हुँदै लुकाइछिपाइ लगिएको गाँजा भारतीय सीमामा लगेर महँगो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका प्रहरीले जनाएको छ। सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ। ती तस्करलाई गोप्य सूचनाका आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको छ।

गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक, नदीको बाटो तथा नेपाल-भारत सीमानाकामा कडाइका साथ निगरानी र जाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसारपसार गर्ने १३० जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै ८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान कारवाही गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उनका अनुसार १२५ पुरुष, एक महिला र चार विदेशी पुरुष रहेका छन्।

त्यस्तै बरामद भएका लागुऔषधमा नाइट्रोसन र नाइट्राभेट सात हजार ३५३ ट्याब्लेट, नाइट्राभेट एम्पुल एक हजार २६४, कोरेक्स, ओनरेक्स दुई हजार ५७४ बोतल, गाँजा १३५ किलो ७५० ग्राम, इन्जेक्सन १५८ र चरेस ५०० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

भारतको सोनवर्षा, भुतही, सीतामढीबाट ल्याइएका लागुऔषध नेपाल-भारत सीमा हनुमानचोक (रामनगरा), कन्हौली भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीय व्यक्तिसँग सम्पर्क मिलाएर उनीहरुको घरमा लुकाएर राख्ने र पछि सुरक्षाकर्मीको आँखा छलेर मलङ्‍गवा, भेल्ही, भाँडसर, पर्सा, नारायणपुर, सङ्ग्रापुर, त्रिभुवननगर हुँदै नेपाल भित्र्याउने गरेको स्रोतले जनाएको छ।

नेपाल-भारत सीमा नजिकका भारतीय गाउँ तथा बजारमा तस्कर दिनहुँजसो जमघट हुने गरेका छन्। जिल्लाको ५१ किलोमिटर खुला सिमाना रहेको, नेपालीहरुको खेतीपाती भारततिर र भारतीय नागरिकको खेतीपाती नेपालतिर रहेका कारण पनि गैरकानुनी क्रियाकलाप नियन्त्रणमा केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..