काठमाडौं । नक्कली भ्याट बिल बनाएर राजस्व छलि गरेको अभियोगमा ३ कम्पनी र १ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका फरक–फरक व्यक्तिसँग २४ करोड ७६ लाख ८४ हजार ३७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो। विभागले ३ कम्पनीविरुद्ध उच्च अदालत पाटनमा र १ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित ४ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। उनीहरुले नक्कली भ्याट बिल बनाएर १८ करोड रुपैयाँ बराबर राजस्व छलि गरेको विभागले जनाएको छ।
प्रतिवादी बनाइएकामा लार्ज ट्रेड लिंकका सञ्चालक बारा प्रसौनी गाउँपालिका–४ का अर्जुनप्रसाद पटेल, बाराको राजपुर–५ घर भइ महालक्ष्मी नगरपालिका–१ बस्ने जयकिशोर साह, सिरहा रामपुर–९ पिपराका सूर्यजितप्रसाद साह र सर्लाही भक्तिपुर घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१३ काँडाघारी बस्ने तोयानाथ अधिकारी छन्।
उनीहरूसँग १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ बिगो, बिगोको शतप्रतिशत जरिवाना गरी ३६ करोड ७० हजार ४४ लाख ५ सय ७२ रुपैया असुल हुनुपर्ने र ऐन अनुसार कैद सजाय माग गरी मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ। अनुसन्धानमा मूल्य अभिवृद्धि कर (भ्याट) ६ करोड १५ लाख ९७ हजार ९२७, लाभांश १ करोड ५४ लाख ५६७ र आयकर १० करोड ६५ लाख २४ हजार ८९२ रुपैयाँ छलेको पाइएको विभागले जानकारी दिएको छ।
विभागले पर्साको वीरगञ्ज महानगरपालिका–७ स्थित तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरिनारायण साह तुराह, किशोर साह र सूर्यजितप्रसाद साहविरूद्ध मुद्दा दायर गरेको छ। नक्कली भ्याट बिल प्रकरणमा उनीहरूविरुद्ध २ करोड १८ लाख ९८ हजार १२४ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवना र सजाय मागदाबी गरिएको छ। विभागले विदेशी मुद्रा अपचलन गरेको कसूरमा मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–१ घर भइ हाल कास्कीको पोखरा बस्ने छिरिङ ढुण्ढु गुरुङविरूद्ध पनि मुद्दा दायर गरेको छ।
अवैध डलरको कारोबार गरी २ करोड ३२ लाख ७४ हजार १८० रुपैयाँ अपचलन गरेको कसूरमा उनीविरूद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ। उनलाई बिगोको दोब्बर जरिवना र ३ वर्ष कैद सजाय माग गरिएको छ। उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
यस्तै, भन्सार चोरी पैठारी गरी राजस्व छलेको अभियोगमा बाँकेका सैपादिन मिया र भारतीय नागरिक अमन मित्तलविरूद्ध पनि विभागले मुद्दा दायर गरेको छ।
उनीहरूसँग १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ।


