नेपाल प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाइँदै

३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीमा भने वर्षौंदेखि प्रहरी महानिरीक्षकले पूरा कार्यकाल बिताउन पाएका छैनन्

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो । 

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमावलीअनुसार अनिवार्य अवकाशका लागि ३ वटा प्रावधान छ । पहिलो, ३० वर्षे सेवा अवधि, दोस्रो उमेर हद र सेवा अवधि । दुवै निकायको प्रहरी महानिरीक्षकको हकमा सेवा अवधि, ५८ वर्षे उमेर हद र ४ वर्षे कार्यकालका कारण अवकाश हुने गरेको छ । 

पहिलो प्रहरी नियमावली, २०१५ मा ३० वर्षे सीमा थिएन । सो नियमावलीको परिच्छेद १०, नियम (१) र (२) अनुसार उमेरको हद र पदावधि आधारमा मात्र प्रहरी कर्मचारी सेवामुक्त हुन्थे । दोस्रो प्रहरी नियमावली, २०३३ को परिच्छेद १०, नियम (१) र (२) मा पनि उमेरको हद र पदावधि मात्र थियो ।

२०४६ सालको परिवर्तनपछि तेस्रो प्रहरी नियमावली, २०४९ पुस ६ मा जारी हुँदा पनि ३० वर्षे सीमा राखिएन । तर, त्यसमा २०४९ फागुन १५ मा संशोधन गरी नियम ९८ मा उपनियम (१) थप गरी ३० वर्ष सेवा अवधि पूरा गरेपछि पनि अनिवार्य अवकाश दिने नयाँ व्यवस्था थपियो, जुन निरन्तर विवादमा छ ।

२०५२ सालमा मन्त्रिपरिषद्ले प्रहरी कर्मचारीको ३० वर्षपछि २ वर्ष थप हुने व्यवस्था स्वतः जोडिने भन्ने निर्णय गरे पनि लागू भएको छैन । 

३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीमा भने वर्षौंदेखि प्रहरी महानिरीक्षकले पूरा कार्यकाल बिताउन पाएका छैनन् । यसका साथै उच्च पदहरुमा चाँडो चाँडो अवकाशका कारण अनुभवी अधिकारी संगठनले गुमाउँदै आएको छ । 

यसपटक भने प्रहरी र सशस्त्र दुवैमा ३० वर्षे सेवा अवधि हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक देखिएको गृह मन्त्रालयको उच्च स्रोतको भनाइ छ ‘साथै अर्थ र कानुन मन्त्रालयले पनि सहमति दिएको छ,’ स्रोतले भन्यो । 

हालको ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको कार्यकाल आगामी चैतसम्म मात्र छ । तर यो प्रावधान खारेज भएमा भने उनको कार्यकाल ३ वर्षको हुनेछ । 

सशस्त्र प्रहरीका हालका आईजीपी राजु अर्यालले भने यो प्रावधान नहटे पनि ४ वर्षको पूरा कार्यकाल बिताउनेछन् । तर, उनीपछि महानिरीक्षक बन्ने लाइनमा रहेका एआईजी नारायणदत्त पौडेलको भने १ वर्षको मात्र कार्यकाल हुनेछ । त्यसैले सरकारले ३२ वर्षे सेवा अवधि बनाउँदा महानिरीक्षक अर्यालले कुनै विरोध नगर्ने ‘जेन्टलम्यान एग्रीमेन्ट’ एआईजी पौडेलसँग भएको उच्च स्रोतको भनाइ छ । 

यो प्रावधान हटेमा र एआईजी पौडेल महानिरीक्षक बनेमा उनको पनि कार्यकाल ३ वर्षको हुनेछ । 

दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिका कारण थुप्रै उच्च अधिकारीले चाँडै नै अनिवार्य अवकाशमा जानुपरेको भन्दै विवाद हुने गरेको छ । यसलाई हटाउन बेलाबेलामा प्रयास पनि हुँदै आए पनि सफल हुन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..