छठ पर्वमा सुरक्षा चुनौती सामना गर्न आईजी केसीको देशभर ‘हाई अलर्ट’ निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले छठ पर्वलाई लक्षित गर्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

भर्चुअल माध्यमबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग सुरक्षा योजनाबारे जानकारी लिँदै उनले सम्भावित सुरक्षा चुनौतीको पूर्वआकलन गरी कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कताका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका हुन् ।

आईजीपी केसीले छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित गतिविधि तथा सुरक्षा चुनौतीलाई समयमै पहिचान गर्न सूचना संकलन, विश्लेषण र आदानप्रदानलाई प्रभावकारी बनाउन जोड दिए । साथै, सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय र सहकार्य गरी सुरक्षा योजना कार्यान्वयन गर्न निर्देशन दिए ।

उनले पर्वका क्रममा हुने भीडभाड तथा जमघटको व्यवस्थापन, श्रद्धालु भक्तजनको आवागमन र सुरक्षालाई सहज बनाउन तथा नदी, पोखरी र जलाशय आसपास विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

भीड नियन्त्रणका क्रममा संवाद, सम्झाइबुझाइ र समन्वयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले बल प्रयोग गर्नुपर्ने अवस्था आएमा प्रचलित कानुन र समानुपातिकताको सिद्धान्तअनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिए ।

साथै, फिल्डमा खटिने प्रहरीको परिचालन तथा गतिविधिमाथि सम्बन्धित कमाण्डरले प्रत्यक्ष निगरानी र नियन्त्रण कायम राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..