काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक डाकिएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी बैठक आइतबार ११ बजे तुलसीलास स्मृती भवन च्यासलमा बस्ने गरी डाकिएको छ।
यस्तै केन्द्रीय कमिटी बैठक ४ गते सोमबार ११ बजे सोही ठाउँमा नै डाकिएको छ।सर्वोच्च अदालतको फैसलाका कारण सरकारबाट बाहिरिए पनि पार्टीभित्रको विवादले नेकपा एमालेको आन्तरिक गतिविधि सहज हुन सकेको छैन।
एमालेका २३ सांसदकै कारण सरकारबाट बाहिरिनु परेको कुरा अध्यक्ष ओलीले कुनै पनि हालतमा स्वीकार्न सकिरहेका छैनन्।तर वरिष्ठ नेता माधव कुमार नेपाल पक्षसँग २७ गते राति भएको १० बुँदे सहमति भइसकेको छ। दोस्रो तहका नेता कुनै पनि हालतमा एमाले फुट्न नदिन लागिपरेका छन्।
तर वरिष्ठ नेता नेपाल भने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार टिकाउन लागिपरेको ओली समूहको आरोप छ।यस्तोमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षलाई पनि बोलाएर देउवाले लिने विश्वासको मत र पार्टीको आगामी रणनीतिका सम्बन्धमा छलफल गर्ने बताइएको छ।


