कामै नगरी ३३ लाख भुक्तानी, अध्यक्षदेखि भुक्तानी दिनेमाथि कारबाही गर्न अख्तियारमा गुहार

काठमाडौं । सडक र पर्खाल निर्माण गर्नका लागि दिएको ३३ लाख रुपैयाँ कामै नगरी भुक्तानी लिएर हिनामिना गर्ने कोटेश्वरको शुभकामना मार्ग टोल सुधार समितिका अध्यक्ष भगवान गिरीमाथि कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुनः अर्को उजुरी परेको छ । २०७८ असोज १८ मा शुभकामना मार्ग टोल सुधार समितिका सदस्यहरुले आयोगमा उजुरी दिएका हुन् । जसको दर्ता नम्बर ०–०१५२० रहेको छ ।

कामै नगरी ३३ लाख लिने अध्यक्ष गिरी र भुक्तानी दिने उपत्यका विकास प्राधिकरणका प्रमुखदेखि लेखाका कर्मचारीमाथि पनि कारबाहीको माग गरिएको छ । शुभकामना मार्ग टोल सुधार समितिको ११ सदस्यीय कार्यसमितिका सदस्यमध्ये १० जनाले उजुरीमा हस्ताक्षर गरी सडक निर्माणको लागि ल्याएको रकम हिनामिना गर्ने गिरीमाथि कारबाहीको माग गरेका छन् । ११ सदस्यीय कार्यसमितिका १० सदस्यले कामै नगरी ३३ लाख निकासा दिएको, समितिको निर्णय समेत कीर्ते गरेकाले भुक्तानी दिने कर्मचारीमाथि पनि कारबाही गर्न माग गरिएको छ ।

गिरीले कामै नगरी कीर्ते गरी रकम लिएकोबारेमा अख्तियारमा दर्ता गरेको उजुरीमा सरकारी स्रोत दुरुपयोग गर्ने गिरीमाथि कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । सरकारी सम्पत्ति दुरुपयोग भएको बिबरण सहित दिइएको उजुरीमा उल्लेख छ–काठमाडौं उपत्यका विकास प्राधिकरण सडक डिभिजन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरीको संयुक्त प्रयासमा काठमाडौं जिल्लाभित्रका विभिन्न सडक सुधार तथा विस्तार गर्ने कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३२ को शुभकामना मार्गको जी.एलडी. मापदण्ड अनुसार सडक विस्तार गर्दा १८ कित्तामा रिटेनिङ वाल निर्माण गर्नुपर्ने हुँदा सो कार्यको लागि प्राविधिकबाट स्थलगत नापजाँच गरी जम्मा लागत रु ५८ लाख १८ हजार ३८६ रुपैयाँ ३६ पैसा स्वीकृत भएको थियो ।

निर्माण कार्य गर्नका लागि जिल्ला आयुक्तको कार्यालय काठमाडौं र समितिबीच २०७३ भदौ २७ मा सम्झौता भएको थियो । कार्यालय र समितिबीच भएको सम्झौता अनुसार समितिले प्रचलित कानुन, समितिको विधान र सार्वजनिक खरिद नियमावली २०६४ को नियम २७ को अधिनमा रही निर्माण कार्य समपन्न गर्नु पर्ने साथै समितिले जुन उद्येश्य र कार्यक्रमको लागि रकम प्राप्त गरेको हो सोही बमोजिम मात्र रकम खर्च गर्नुपर्ने उल्लेख छ । सम्झौता अनुसार निर्माण कार्य गर्ने, रकम प्राप्त गर्ने, प्राप्त रकम फछर्याैट गर्ने, लेखापरीक्षण गराउने जिम्मेवारी समेत समितिले नै पूरा गर्नुपर्दछ । यस कार्यका लागि समिति र जिल्ला आयुक्त कार्यालयबीच भएको सम्झौता अनुसार निर्माण आयोजना २०७३ भदौ २७ मा सुरु शुरु गरी २०७३ मंसिर १० सम्म सम्पन्न गरिसक्नुपर्ने उल्लेख थियो ।

निर्माण कार्यका लागि जिल्ला आयुक्तको कार्यालयले रु ३६ लाख ९८ हजार १४७ रुपैयाँ ६५ पैसा, प्राविधिक सहायता रु. २ लाख १२ हजार ६४३ रुपैयाँ ४९ पैसा र जनसहभागिताबाट ९ लाख रुपैयाँ गरी जम्मा रु. ४८ लाख १० हजार ७९१ रुपैयाँ १४ पैसा बजेटको ब्यवस्था गरिएको थियो । निर्माण सम्झौता अनुसार समितिले शुभकामना मार्गमा सडक विस्तार गर्दा साबिकको घर जग्गा अगाडिको पर्खाल भत्कन गई सो स्थानमा रिटेनिङ वाल निर्माण गर्नुपर्नेमा खाली जग्गामा मात्र पर्खाल लायो । जसको अनुमानित खर्च जम्मा ४ लाख ७५ हजार मात्र हुन आउँछ ।

समिति र कार्यालयबीच भएको निर्माण सम्झौता अनुसार समितिबाट पछिल्लो रनिङ्ग बील, भर्पाई, प्राविधिक मूल्याङ्कन र खर्च प्रमाणित गर्ने अन्य कागजात समेत कार्यालयमा पेश गरी रु ३३ लाख ४ सय ५१ रुपैयाँ पेश्कीबापतको रकम कृषि विकास बैंकमा रहेको समितिको खातामा २०७३ असोज २८ मा जम्मा गरिएको थियो ।

अध्यक्ष भगवान गिरीले कामै नगरी २०७४ असार ८ मा कार्यसमितिको बैठक बसाली म ठेकेदार भई निर्माण कार्य गरेको छु भनी रु ३३ लाख ४५१ रुपैयाँ पेश्की लिएकाले उनीमाथि प्रचलित कानुन, समितिको विधान, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्माण सम्झौता समेतको उल्लंघन गरी सरकारी स्रोतको दुरुपयोग गरेकोमा कारबाही गर्न माग गरिएको छ ।

गिरीले समिति र कार्यालयबीच जीएलडी सडक विस्तार हुँदा शुभकामना मार्गमा घरजग्गाको पर्खाल समेत क्षति हुने हुँदा सो रिटेनिङ वाल निर्माण गरिदिने सम्झौता गरेका थिए । तर सम्झौता अनुसार रकम पेश्की निकासा भएकोमा कुनै पनि घरजग्गाको अगाडि रिटेनिङ वाल नलगाई मात्र खाली जग्गामा जमिनसम्म मात्र लगाएका छन् ।

तर सम्पूर्ण घरमा रिटेनिङ वाल लाएको भनी कार्यालयमा वील, भर्पाई, मेजरमेन्ट बुक, एबस्ट्रयाक्ट कष्ट, डिटेल स्टीमेट, फष्ट रनिङ बिल पेश गरी ३३ हजार ४५१ रुपैयाँ पेश्कि लिएर भ्रष्टाचार गरेका छन् । यसरी उपत्यका विकास प्राधिकरणका प्राविधिक कर्मचारी र अध्यक्ष भगवान गिरीको मिलोमतोमा निर्माण कार्य नै नगरी सरकारी स्रोतको दुरुपयोग गरेकाले कारबाही गर्नका लागि आयोगमा उजुरी दिनुपरेको उल्लेख छ ।

अख्तियारले निर्माणस्थल जाँच गरेमा पनि सम्झौता अनुसार रिटेनिङ वाल नलाई भुक्तानी दिएको पुष्टि हुनेछ । आंशिक निर्माण कार्यको लागि भुक्तानी भएको भनिएको छ । तर निर्माण सम्झौता अनुसार रिटेनिङ वाल नलगाई केही स्थानमा आंशिक निर्माण कार्य गरेकोमा पनि सम्बन्धित फर्म तथा श्रमिकहरुलाई पूरा भुक्तानी दिएको देखिंदैन । गिरीले सामान आपूर्ति गर्ने फर्म तथा श्रमिकहरुलाई भुक्तानी समेत नदिएकाले समिति तथा विभिन्न निकायमा उजुरी परेको छ । प्रचलित कानुन बमोजिम भुक्तानी दिएको प्रमाण पनि समितिले पेश गर्न सकेको देखिंदैन ।

अध्यक्ष भगवान गिरीले पेश्की लिंदा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ अनुसार समितिले पाएको काम आफैंले समपन्न गर्नुपर्ने छ र कुनै निर्माण व्यवसायी वा सबकन्ट्रयाक्टरबाट गराउन पाइने छैन भन्ने व्यवस्था छ । तर गिरीले समितिबाट २०७४ असार ८ मा निर्णय गराई ‘म नै ठेकेदार हुँ मैले नै निर्माण कार्य गरेको हुँ’ भनी रु पेश्की लिएको देखिन्छ । यसरी कानुन विपरीत ठेकेदार हुँ भनी लिएको पेश्की कुनै पनि फर्म वा श्रमिकलाई भुक्तानी दिएको प्रमाण पेश गरेको पाइदैन । यस तथ्यबाट पनि सरकारी स्रोतको पूर्ण रुपमा दुरूपयोग गरेको स्पष्ट हुन्छ ।

सम्झौता अनुसार कार्य सम्पन्न र पेश्की फर्छयौट सम्बन्धमा समिति र जिल्ला आयुक्तको कार्यालयबीच २०७३ मंसिर १० सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएको थियो । तर आंशिक रुपमा निर्माण कार्य गरी पहिलो रनिङ्ग बिलबाट रु ३३ लाख ४५१ रुपैयाँ पेश्की लिएकोमा हालसम्म पनि पूर्ण रुपमा कार्य सम्पन्न भएको छैन । पेश्की रकम समेत फर्छयौट भएको छैन ।

यसरी सार्वजनिक खरिद नियमावलीकोव्यवस्था विपरीत कार्यालय र समितिले निर्माण कार्य नगरी सम्बन्धित कार्यालय र समितिले सरकारी रकमको दुरुपयोग गरेकाले तथ्य प्रमाणित भएकाले गिरीमाथि कारबाही गर्न माग गरिएको छ ।शुभकामना माार्ग टोल सुधार समितिको निर्णय र साधारण सभा सम्बन्ध नै हुन सकेको छैन ।

२०७२ सालमा गठन भएको समितिको अध्यक्षको हैसियतले समितिको विधान बमोजिम स्थापनाकालदेखि हालसम्म नियमित बैठक तथा वार्षिक साधारण सभा समेत गिरीले गरेका छैनन् । साथै कार्यसमितिको दुई वर्षे कार्यकाल समाप्त भइ सकेपछि पनि विधान विपरीत कार्य सञ्चालन भइरहेको छ । समितिका अध्यक्ष भगवान गिरीले विधान बमोजिम सचिव र कोषाध्यक्षलाई कुनै कार्यमा संलग्न नगराई सम्पूर्ण खर्चका भौचर तथा विल भर्पाइ निर्णय आफ्नो साथमा राखेको र कार्यसमिति र साधारण सभाबाट समेत खर्च अनुमोदन नगरी एकल रुपमा समिति सञ्चालन गरेको उजुरीमा उल्लेख छ ।

अध्यक्ष गिरीले सार्वजनिक खरिद नियमावली अनुसार निर्माण कार्य सम्पन्न गर्ने, खर्च प्रमाणित गर्ने, विल भर्पाइ संलग्न गर्ने, कार्यसमितिबाट प्रमाणित गराउनु पर्ने, लेखा परीक्षण गराई प्रतिवेदन तयार गर्ने र समितिको वार्षिक साधारणसभाबाट अनुमोदन गराउने कार्य समेत गरेका छैनन् ।

काम नै नगरी सरकारी रकम दुरुपयोग गरेकाले छानबिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंदेखि बिभिन्न निकायमा निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उल्लेख छ । अख्तियारले सप्रमाण विवरणसहित समितिले दिएको यस उजुरीउपर छानबिन गरी दोषीमाथि कारबाही गर्ने अपेक्षा पनि शुभकामना मार्गबासीले गरेका छन् ।

यसअघि २०७७ साउन २८ मा पनि शुभकामना टोलका सदस्यहरुले अख्तियारमा उजुरी दर्ता गराएका थिए । काठमाडौं महानगरपालिका वडा नं. ३२ शुभकामना टोल सुुधार समितिका अध्यक्ष गिरीले संस्थाका पदाधिकारीदेखि सदस्यसम्म कसैलाई पनि जानकारी नदिई संस्थाको उद्देश्य र विधान विपरीत कार्य गरेकाले कारबाहीको माग गरिएको थियो । तर अख्तियारले त्यो उजुरीमा छानबिन नगरेपछि पुनः अर्को उजुरी दिनुपरेको उल्लेख छ ।

टोलको विकासका लागि आएको ३३ लाख ४५१ रुपैयाँ रकम कामै नगरी खाएका गिरी केही दिनअघि भएको नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचनमा पनि शर्मनाक रुपमा हारेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..