काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताएका छन् ।
बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनको भनाइ छ ।
उनले भने, ‘भन्सारका लागि र क्वारेन्टिनका लागि बिल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । तीनवटा तयार भइसकेको छ । ठूलाठूला गोदामहरू दुईवटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्ड बनिसकेको छ । गेट तीनवटै धमाधम सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ, ट्वाइलेट, वाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौं ।’
काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैं काठमाडौंमा आउने सामग्री ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए । उनले भने, ‘बाहिरी देशबाट आउने सामान जो काठमाडौंको गन्तव्य हुन्छ । उनीहरूले म वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्जमा क्लियर गर्दिन सिधैं काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीं ल्याएर क्लियर गर्न सक्नुहुन्छ ।’ व्यापारलाई सहजीकरण गर्ने, सामानको ढुवानी, ओसारपसार गर्ने मूल्य घटाउन यसले महवपूर्ण योगदान दिनेछ ।
अहिले पनि तेस्रो मुलुकबाट आउने अथवा नेपाल, भारत, चीनबाट आएको ६० देखि ७० प्रतिशत सामान त काठमाडौंमा नै आइराखेको छ । भोलिको दिनमा काठमाडौंको सामान काठमाडौंमा नै क्लियर हुने अवसर हुन्छ । यसले व्यापार सहजीकरण पनि गर्छ । लजिस्टिक कस्ट कम गर्छ ।
त्यसैले या बन्दरगाह मŒवपूर्ण छ ।’ वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसारपसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनको भनाई छ । यसैगरी, उनले पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने जानकारी दिए । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको छ ।


