रामभराेसि यादब / सिरहा । निवर्तमान सांसद एवं जसपाका नेता राजकिशोर यादव विहीबार दोस्रो चरणमा मन्त्रि नियुक्त भएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।
२०३० साल साउन १८ गते जन्मेका मन्त्री यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । श्रीमती सरिताकुमारी यादव पूर्वसभासद हुन् ।
इन्जिनियरिङ पढेका यादव २०६० सालदेखि मधेसी जनअधिकार फोरममा आबद्ध भई पहिलाे मधेश आन्दोलन बाट सक्रिय राजनीतिमा आएका हुन् । उपेन्द्र यादवको पार्टीबाट अलग भएपछि २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरेर यादव अध्यक्ष बनेका थिए ।
उनको पार्टी राजपामा समाहित भयो र पछि राजपा र समाजवादी मिलेर जसपा बन्यो । २०७२ वैशाखमा मधेस केन्द्रित दलहरू एकीकृत हुँदा राजपामा उनी अध्यक्ष मण्डलको सदस्य थिए ।
संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सिरहाबाट यादव निर्वाचित भएका थिए । २०७४ को चुनावमा उनी सिरहा ४ बाट निर्वाचित भए ।
२०६८ सालमा यादवले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । त्यसबेला उनले सरकारको प्रवक्ताको जिम्मेवारी पनि निभाएका थिए ।


