काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुन : तीव्रता दिदिएका छन् ।आफूसँगै थप सात मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले एमालेबाटै सम्भवतः आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ।
गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज अधिकारीले दाबी पेश गरेपछि प्रधानमन्त्री ओली कसलाई बनाउने भनेर दबाबमा परेका छन् । तर, ओली भने चुनाव गराउनुपर्ने भएकोले अलिक विवादमा नपरेकालाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा देखिएका छन् ।
प्रहरी नेतृत्वले पनि बस्नेतभन्दा अधिकारीलाई रुचाएकोले गृहमन्त्रीमा अधिकारीकै सम्भावना रहेको पनि एमालेनिकट उच्च स्रोतको दाबी छ । अधिकारी गृहमन्त्री बने बस्नेत सञ्चारमन्त्री बन्ने निश्चित् छ । बस्नेतले पनि आफूलाई गृह नदिईए सञ्चार दिन भनेका छन् ।प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आँफैसँग राख्ने भएका छन् ।
पूर्व माओवादी खेमालाई पनि खुशी तुल्याउनको लागि केही मन्त्रालय दिने उनको तयारी छ । यसको लागि उनले अहिले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँग परामर्शसमेत गरेका छन् । तर, नाम भने तय भएको छैन् ।


