काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व एवं पूर्वसांसद विष्णुलाल तामाङ (बिएल वाइबा) को निधनप्रति दुःख व्यक्त गरेका छन्। उच्च रक्तचाप र मधुमेहबाट पीडित कमरेड वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा यही जेष्ठ २० गते साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो ।
शुक्रबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाउनुका साथै कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको उल्लेख गरेका छन्।
शोक वक्तव्यमा उल्लेख गरिएको छ, ‛कमरेड वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उहाँप्रति पुनः एकपटक श्रद्धा सुमन प्रकट गर्दछु। कमरेड वाइबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
स्थानीय सामन्त विरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरेका वाइबा २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)को केन्द्रीय सदस्य भएका थिए।
२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरण पछि केन्द्रीय सदस्य हुँदै नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य रहेका थिए। सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय थिए।वाइबाका उनका तीन छोरा र दुई छोरी रहेका छन्।



