काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।
बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो।
यसका साथै मन्त्रालयको आधिकारिक सूचना जानकारी नलिइ नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचार प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको र सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई जिम्मेवार बन्न सचेत गराएको छ।
बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना संक्रमण भेटिएको भन्दै समाचार प्रकाशित गरेको थियो। डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो।
डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ। नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ।



