जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ । स्थानीय वैद्यनाथ झाको घरमा बुधबार प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको हो ।
धनुषाका प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घर लामो समयदेखि खाली थियो । बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोलीले ताला तोडेर भित्र हेर्दा बेडमा सिरकले छोपिएको अवस्थामा शव फेला परेको मिश्रले बताए ।शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।
‘घटना शंकास्पद देखिएको छ’ डीएसपी मिश्रले भने, ‘थप अनुसन्धान शुरु गरेका छौं ।’


