काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन उचित नभएकाले सोमबारको बैठकमा अनुपस्थित भएको स्पष्टीकरण दिनुभएको छ ।
सोमबार साँझ प्रेस विज्ञप्ती जारी गरेर बरिष्ठ नेता नेपालले राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनैपनि दृष्टिबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन उचित नभएकाले बैठकमा अनुपस्थित भएको स्पष्टीकरण दिनुभएको हो ।
जारी विज्ञप्तीमा उहाँले भन्नुभएको छ, ‘उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं ।’
त्यस्तै उक्त निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी ओलीलाई हामी फेरि पनि देश, जनता र पार्टीप्रति जिम्मेवार भएर सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्दछौं ।’
त्यस्तै, ओलीले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय हितका साथै नेकपा (एमाले)को विधान, विधि, सिद्धान्त, नीति र आदर्श विपरीतका काम–कारबाही तीब्र पार्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेलिरहेको पनि नेपालको आरोप छ ।


