रुकुम । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्ला अस्पताल रुकुम पश्चिमको निरीक्षण गरेका छन् ।

कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमणले निम्त्याएको महामारीको अवस्था र आगामी तयारीको व्यवस्थापनका लागि उनले बिहीबार अस्पतालको निरीक्षण गर्दै अस्पताल प्रशासनलाई बिरामीको सेवामा निरन्तर खट्न निर्देशनसमेत दिएका छन् ।
आफूसहित प्रमुख जिल्ला अधिकारी बन्द्रीनाथ गैरे, जिल्ला समन्वय समितिका प्रमुख रामकुमार शर्मा, मुसीकोट नगरपालिकाका मेयर देवीलाल गौतमसँग बैठक बसेर अस्पतालमा रहेका सबै स्टोर र गोदाम खाली गरेर थप ६० जति नयाँ बेडको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको छ ।

उक्त निर्णयसहित बैठकले संक्रमितलाई उच्च प्राथमिकतामा राखेर उपचार गराउने विषयमा १२ बुँदे निर्णय गरेको छ ।
‘स्वास्थ्यकर्मी सबैले उच्च मनोबलका साथ काम गरिरहनु भएको छ । थप ६० जति नयाँ बेडको व्यवस्थापन गरेका छौं । महामारीको बेला जनप्रतिनिधि,कर्मचारी हामी सबैले बिनाबर्दिको सेनाको रुपमा काम गरौं,’ अस्पताल निरीक्षणपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘महामारीविरुद्ध सबै एकजुट भएर लडौं जनताको जीवन रक्षा गरौं ।’




