बाँकेमा एक साताका लागि लकडाउन

बाँके । बाँके जिल्लामा आगामी बिहीबारदेखि एक साताका लागि लकडाउनको सिफारिस गरिएको छ । कोरोना संक्रमण वृद्धिको उच्च दरमा रहेको कारण बाँकेका स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका विज्ञले संक्रमणको दर घटाउन अनिवार्य लकडाउनको विकल्प नभएको सुझाव आएपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र बाँकेले जिल्लालाई एक साता लकडाउनको सिफारिस गरेको हो ।

मंगलबार दिउँसो बाँकेका स्थानीय तहका प्रमुख, स्वास्थ्य क्षेत्रका विज्ञ तथा स्थानीय राजनीतिक दल, व्यावसायीका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागितामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्नै पर्ने निष्कर्ष निकाल्दै बिहीबारदेखि बाँके जिल्ला लकडाउन गर्न सुझाव आएकोले केन्द्रमा सिफारिस पठाएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनले बाँकेको कोरोना संक्रमणको दर अत्यन्तै तीव्र रूपले वृद्धि भएका कारण संक्रमणको चेन तोड्न स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा संघीय सरकारबाट प्राप्त गाइड लाइनका अनुसार विद्यालय, हेल्थक्लब, पौडी पोखरी, मनोरञ्जनका स्थललगायतका स्थानहरू बन्द गर्नुका साथै बाँके जिल्लालाई लकडाउन गर्ने गरी तयारी अघि बढाउन सकिने बताए ।

बाँकेबासीलाई कोरना महामारीको संक्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन स्वास्थ्यका मापदण्ड पालना गर्दै आफूलाई आवश्यक पर्ने खाद्यान्नलगायतको जोहो गर्न उनले आग्रह गरे । सो बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेल, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणा, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, एमाले बाँकेका अशोक कर्माचार्य, जनता समाजवादीका कमरुदिन राई, भेरी अस्पतालका डा. प्रकाशबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ । कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए । सोमबार भेरी अस्पतालमा मात्र ३ सय ७५ जनाको परीक्षण गर्दा २ सय १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..