चितवन । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै केन्द्रमा नयाँ कायापलट हुने दाबी गरेका छन् । चितवनको माडीमा योङ कम्युनिष्ट लिग वाईसीएलको नगर भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुश सरकारलाई ठेगान लगाउन केही दिनभित्रै राजनीतिक कायापलट हुने दाबी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आइतबार साँझ राजनीतिक दलहरुबीच बैठक बस्न लागेको जनाउँदै सो बैठकले नयाँ सरकारका लागि महत्वपूर्ण निर्णय गर्ने बताए ।प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयास भैरहेको बताए । उनले भने, ‘तपाईहरुले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं।’

अध्यक्ष प्रचण्डले निरंकुश सरकारको पतन गराई जनपक्षीय सरकार बनाउने दाबी गरे । प्रतिगमन विरुद्ध सडकमा रहेका दलहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने उनले विश्वास गरे । त्यसपछि नयाँ युगको सुरुवात हुने समेत उनले जिकिर गरे ।

प्रचण्डले संसद पूनर्थापना भएपछि यौटा व्याटल जितिसकेको बताउँदै थले ‘कर्णालीका साथीहरुले देखाइदिइसके। अब केन्द्रमा पनि कायापलट हुँदैछ, हुनैपर्छ।’


