काठमाडौं । नेपाली कांग्रेसमा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अछामका नेता रामबहादुर चलाउनेलाई सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् ।
२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीति गर्दै र २०४७ सालपछि राप्रपामा लागेका चलाउने पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विगत ३० वर्ष लामो राप्रपाको राजनीतिमा चलाउने पूर्व क्षेत्रपाल र २०७० सालमा राप्रपाबाट सांसदका उम्मेदवार समेत रहेका थिए ।
अछामको तुर्माखाद गाउँपालिका–७ तोषी निवासी नेता चलाउनेलाई एक कार्यक्रमबीच सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बूढानिलकण्ठमा पार्टीको सदस्यता दिँदै खादा र अबिर लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, नेपाली कांग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वार, पूर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल, क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको उपस्थिति थियो ।


