काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए ।
उनले भने, ‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ, ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।’
महिलाको स्तन क्यान्सर भएरनभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र भिआइपीरभिभिआइपी उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताए । उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।


