नयाँदिल्ली । भारतका सबैभन्दा धनाढ्य उद्योगपति मुकेश अम्बानीले लण्डनमा खरिद गरेको बंगला निजी निवासका रुपमा प्रयोग नगर्ने रिलायन्स इन्डस्ट्रिजले स्पष्ट पारेको छ।
लण्डनस्थित उक्त बंगला खरिद गरेपछि मुकेशको परिवारले उक्त बंगलालाई घरका रुपमा प्रयोग गरी उतै बस्न लागेको चर्चा चलेपछि भएका सबै किसिमका अनुमानलाई रिलायन्स इन्डस्ट्रिजले बिज्ञप्तीमार्फत बंगलाको प्रयोजनबारे स्पष्टिकरण दिएको हो।
मुकेश अम्बानीले लण्डनको बकिंघमशायरको स्टोक पार्क क्षेत्रमा २३८५ रोपनीमा फैलिएको कन्ट्री क्लबका रुपमा संचालन भरहेको भब्य बंगला खरिद गरेका थिए।
उक्त घर खरिद गरी मुकेश लण्डन नै बसाई सर्न लागेको हल्ला चलेको थियो। तर रिलायन्स इन्डस्ट्रिज लिमिटेजले एक बिज्ञप्ती जारी गर्दै मुकेश अम्बानी लण्डन वा विश्वको अरु कुनै शहरमा पनि बसाइ नसर्ने स्पष्ट पारेको छ।
रिलायन्सले बिज्ञप्तीमार्फत भनेको छ- ‘हाम्रो कम्पनीका अध्यक्ष तथा उनको परिवार लण्डन वा विश्वमा अन्य कतै पनि मुख्य घर बनाएर बस्ने योजना छैन।’
रिलायन्सले ५७ मिलियन पाउण्डमा उक्त घर किनेपछि त्यस घरलाई नै अम्बानीले मुख्य घर बनाउन लागेको चर्चा चलेको थियो। मुकेश मुम्बईमा एन्टिलिया नामको ४ लाख बर्ग फुटको घरमा बस्छन्।
बिज्ञप्तीमा हाल लण्डनमा खरिद गरिएको हेरिटेज प्रोपर्टीलाई कम्पनीले गल्फिङ तथा स्पोर्टिङ रिसोर्टका रुपमा विकास गर्ने योजना बनाएको बताइएको छ।
यस योजनाले भारतको हस्पिटालिटी उद्योगले विश्वभर अझ बढी पहिचान पाउने र बिस्तार हुने अपेक्षा कम्पनीले गरेको छ।
अम्बानीले खरिद गरेको लण्डनस्थित उक्त प्रोपर्टी सन् १९०८ अघि निजी निवास थियो जुन पछि कन्ट्री क्लबका रुपमा परिणत भएको थियो। जेम्स बण्डको सिनेमामा समेत छायांकनका लागि प्रयोग भएको उक्त बंगला अब प्रिमियर रिसोर्टका रुपमा विकास गरिन लागेको रिलायन्सले जनाएको छ।
उक्त बंगलामा ४९ वटा लक्जरी बेडरुम, सम्पूर्ण मेडिकल सुविधा, मन्दिरका साथ अनेक किसिमका सुविधा र भब्यता रहेको बताइएको छ।


