काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला जलवायु विश्व सम्मेलन (कोप-२६) मा व्यस्त छन्। सम्मेलनस्थल ग्लास्गोमा उनलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सोमबार स्वागत गरे।

विश्व राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरुले भेटका क्रममा हात मिलाएनन् बरु कुहिनो ठोक्काए अनि नमस्कार गरे। कोरोना भाइरसको जोखिम अझै कम नभएको अवस्थामा नेताहरुले हात मिलाउनुको साटो अन्य विकल्प रोजेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ग्लासगोमा अनौपचारिक भेटवार्ता भयो । सोमबार साँझ भएको भेट आज तय भएको औपचारिक भेट अघि भएको हो ।
मोदी र देउवाबीच अनौपचारिक कुराकानीमा सञ्चोबिसञ्चोको बारेमा कुराकानी भएको बुझिएको छ । दुई नेताले हाासीमज्जा पनि गरेका थिए । मोदीले देउवालाई प्रधानमन्त्री भएकोमा बधाई पनि दिएका थिए । बधाईपछि देउवा मुस्कुराएका थिए ।
मोदीको साथमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत दोभाल पनि थिए । देउवा र मोदीले मास्क लगाएका थिएनन् । दोभालले पनि मास्क लगाएका थिए । भेटका क्रममा दोभाल प्रफुल्लित देखिएका थिए ।
दोभाल भारतको राजनीतिमा निकै प्रभावशाली मानिन्छन् । उनी उत्तराखण्डका स्थायी बासिन्दा हुन् । देउवा सुदूरपश्चिमको डडेलधुराको भएकाले दुवैको भाषा र संस्कृति धेरै मिल्दोजुल्दो पनि छ । यसले पनि निकटता बढाएको बुझिएको छ ।


